रुकुमकोटमा खानेपानीको अभाव, दैनिकी कष्टकर


२५ जेष्ठ २०७९, बुधबार
water
फाइल फोटो

रुकुम (पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका-६ मा खानेपानीको समस्या देखिएको छ । जिल्ला सदरमुकाम समेत रहेको रुकुमकोटका केही बस्तीमा खानेपानीको अभावले नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ ।

जिल्लामा विद्युत् सेवा अनियमितताले यस वडाको लुफासा लिफ्ट आयोजनाको खानेपानी उपभोक्तासम्म पुग्न नसक्दा समस्या आएको हो । हावाहुरी र वर्षा हुने बित्तिकै जिल्लामा विद्युत् सेवा अवरुद्ध हुन्छ । विद्युतकै कारण यहाँका नागरिक पानीको समस्यासँग पनि जुध्न बाध्य छन् । ६ नं वडाको छिप्रीदह, चिउरेनी, आला र बाहुनडेराका १८६ घरधुरीका नागरिक पानीको अभावले समस्या खेपिरहेका छन् ।

धारामा पानी नझर्दा दैनिक घरायसी कामकाज गर्न, पिउन, सरसफाइ गर्न समस्या हुने गरेको सिस्ने-५ छिप्रीदहका वसन्तकुमार श्रेष्ठले बताए । धारामा पानी नझरेपछि लुस्फा धाराबाट पानी बोक्नुपर्ने बाध्यता रहेको छ । छिप्रीदहमै होटेल गर्दै आएका गोपालप्रसाद सुनारले दैनिक २०/२५ मिनेट धाराबाट पानी झर्ने गरेको बताउँदै त्यो पानीले भाडा धुन, चर्पीमा प्रयोग गर्न र खाना पकाउन नपुग्दा सास्ती खेप्नुपरेको गुनासो गरे ।

छिप्रीदहमै मेडिकल गर्दै आएका प्रकाश नेपालीले पनि पानी अभावको कारण उपचारसँगै अन्य सरसफाइको काममा कठिनाइ हुने बताए । उनले अहिले मोटरसाइकलमा लुस्पाबाट पानी बोकेर प्रयोग गर्दै आएको बताए । हिमशिखा बोर्डिङ स्कुलका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण गौतमले पानी अभावको कारण विद्यालयका शिक्षक, बालबालिकालाई चर्पी प्रयोग गर्न समस्या भएको बताए । उनका अनुसार त्यहाँका विद्यार्थीले अहिले पिउने पानी घरबाटै बोतलमा भरेर ल्याउने गरेका छन् भने चर्पीका लागि बाहिर जानुपर्ने बाध्यता छ ।

लुस्फा लिफ्ट आयोजनाको पानी वितरण गरिरहेका उपसमितिका अध्यक्ष सुशील गौतमले बत्ती अनियमितताको कारण यो समस्या आएको बताए । बत्ती नहुँदा लिफ्ट नचल्ने र आकासिएको मूल्यको कारण डिजेल किनेर जेनेरेटर चलाउने अवस्था नभएकाले पानीको समस्या भएको उनले बताए । अहिले मुस्किलले केही समय भए पनि जेनेरेटर चलाएर लिफ्टमार्फत पानी वितरण गरिरहेको उनको भनाइ छ । खानेपानीको यो समस्या समाधान गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । यसअघि रुकुमकोटमा २०४५ सालमा राजा वीरेन्द्रले उद्घाटन गरेको ठाराखोला मुहानको खानेपानीले धानिरहेको थियो ।

अहिले रकुमकोट जिल्ला सदरमुकामका रुपमा विकास र बढ्दो बजारीकरणका कारण पुरानो खानेपानी आयोजनाले धान्न नसक्दा लिफ्ट आयोजनाको निर्माण गरिएको थियो । गएको वर्ष असारबाट सञ्चालनमा आएको लिफ्ट खानेपानी आयोजनाबाट पनि विद्युत्का कारण पानी वितरण हुन नसकेपछि नागरिक समस्यामा परेका हुन् । आयोजनाले अझै पूणर्ता भने पाइसकेको छैन । आयोजनाको लागत अनुमान खर्च साढे तीन करोड हो । अहिले पनि यसै आयोजनाको विभिन्न ठाउँमा ट्याङ्की निर्माणको काम चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७