नबिल बैंकको शौचालयल सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने


२६ जेष्ठ २०७९, बिहीबार
nabil bank

काठमाडौं । नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन् । आज काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिनेछ ।

तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मतसम्भार, सफाइ र पानीको प्रबन्ध बैंकले गर्नेछ । कामपाले यसअघिनै सहकार्यमा सञ्चालन गर्ने शौचालय पहिचानको लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरिसकेको छ ।

कामपा क्षेत्रभित्रका होटल, रेष्टुराँ, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई सम्पर्क राख्न आग्रह गरेको थियो । कामपासँग सहकार्य भएको सङ्घसंस्थाको शौचालयमा प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले सबैमा एकै किसिमको सङ्केत चिन्न तयार गरेको कामपाले जानकारी दिएको छ ।

सङ्केत चिह्नमा लोगो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न रहेको छ । सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

नव निर्वाचित महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकको निणर्यअनुसार हाल कामपामा रहेका झण्डै ५८ सार्वजनिक शौचालयलाई मर्मतसम्भार गरी पुनः प्रयोग गर्ने र सहकार्यमार्फत तत्काल ६० शौचालय प्रयोगमा ल्याउन लागिएको कामपाको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७