पहिरोले मध्यपहाडी लोकमार्गको घोडाबाँधे गलकोट खण्ड अवरुद्ध


२६ जेष्ठ २०७९, बिहीबार

बलेवा । वर्षासँगै आएको बाढीका कारण पहिरो खस्दा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको घोडाबाँधे गलकोट खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । बुधबार साँझ गलकोट क्षेत्रमा भीषण वर्षापछि लोकमार्गको उक्त खण्डमा दर्जन बढी पहिरो खसेका छन् ।

लोकमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी आवागमन रोकिएको छ भने सर्वसाधारणलाई पैदलयात्रा गर्न समेत कठिन भएको स्थानीयवासीले बताए । बागलुङको गलकोट, बुर्तिबाङ, खर्वाङबाट काठमाडौँ, पोखरालगायतका सहरमा जाने लामो दूरीका सवारीसाधन रोकिएका छन् भने गलकोट, ढोरपाटन नगरपालिका र ताराखोला, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाबाट सदरमुकाम आउने सबै सवारीसाधन गलकोटमै रोकिएका छन् ।
काठमाडाैँ-पोखरालगायतका ठाउँबाट रुकुमपूर्वका लागि छुटेका सवारी घोडाबाँधेमा रोकिएको प्रहरीले जनाएको छ । बाढी पहिरोले सडक क्षत-विक्षत बनाएको हुँदा खुलाउन केही समय लाग्ने गलकोट नगर प्रमुख भरत शर्मा गैरेले बताए ।

त्यस्तै बाढी र पहिरोका कारण गलकोटको नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका-२ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए । बिहीबार साँझदेखि रातभर परेको भिषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाइ छ ।

बाढीको त्रासले स्थानीय रातभर जागराम बसेका छन् । नकटेखोलाको कटानले तटीय क्षेत्रका घर समेत जोखिममा परेको उनले बताए । बाढीले महेन्द्र माविको खेलमैदान पुरिएको र विद्यालय समेत जोखिममा परेको उनले बताए । रातभर स्थानीयवासी र मेसिनको प्रयोग गरी बाढी तर्काउने कोसिस गरेको उनको भनाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७