प्रदेश-१ को नामाङ्करणका लागि एमालेले बनायो संसदीय समिति


२६ जेष्ठ २०७९, बिहीबार
UML Sansadiya dal ko meeting1654763207

विराटनगर– प्रदेश नम्बर १ को नामांकरणका लागि नेकपा एमालेले संसदीय समिति गठन गरेको छ । एमाले प्रदेश १ को संसदीय दलको बैठकले प्रदेशको नामाकरणबारे सहजीकरण गर्न पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा जीवन घिमिरे, उषाकला राई, जगदीशप्रसाद कुसियैत र अर्जुन राई सदस्य रहेको समिति गठन गरेको एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

समितिले प्रदेशको नामबारे पहिले आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुंगो लगाउन पहल गर्ने उनले बताए । आफ्नो पहिलो कार्यकाल सकिनै लाग्दा पनि प्रदेशसभाले अहिलेसम्म प्रदेशको नाम राख्न सकेको छैन । प्रदेश नम्बर १ बाहेकका सबै प्रदेशले नाम राखिसकेका छन् ।

समितिले प्रदेशको नाम राख्ने विषयमा पहिले आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुंगो लगाउन पहल गर्ने बताइएको छ । अहिले प्रदेश नम्बर एकको हिउँदे तथा बजेट अधिवेशन जारी छ । केही समयअघि, मुख्यमन्त्री राजेन्द्र राईले ठूलो दलको हैसियतले नामकरणको विषयमा पहल लिँदा हुने भन्दै सदनबाट आह्वान गरेका थिए ।

अहिलेसम्म ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । प्रदेश एक प्रदेश सभाको कार्यअवधि नै पूरा हुन लाग्दासमेत औपचारिक रूपमा नामको विषयमा छलफल हुन सकेको छैन । एमाले जातीयभन्दा पनि भौगोलिक पहिचानको आधारमा नाम राख्नुपर्ने पक्षमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७