‘मिनी रङ्गशाला’ योजना अलपत्र


२७ जेष्ठ २०७९, शुक्रबार
21 Shares
rangasala

बेनी । म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा लामो समयदेखि युवाले खेलकुद अभ्यास गर्न पाएका छैनन् ।
खुलामञ्चलाई स्तरोन्नति गरी मिनी रङ्गशाला बनाउने काम सुरु भएको वर्षौं बिते पनि बजेट अभावले योजना अलपत्र बनेको छ । खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडी यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको भए पनि केही वर्षयता खुलामञ्च खेल मैदान प्रयोगविहीन बनेको छ ।

खुुलामञ्चको पूर्वाधार योजना अलपत्र बनेको र निर्माण सामग्री अव्यवस्थितरुपमा राखिएको कारण विभिन्न समयमा हुँदै आएका खेलकुद प्रतियोगितासमेत प्रभावित बनेका छन् भने बेनीस्थित विभिन्न विद्यालय र क्लबका खेलाडीले खेल अभ्यास राम्रोसँग गर्न पाएका छैनन् । मिनी स्टेडियम बनाउने योजनामा खेल मैदानलाई फराकिलो बनाउने र प्यारापिट बनाउने पूर्वाधार समेत बीचैमा अलपत्र बनेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पूर्वाधार निर्माण योजनाले पूणर्ता पाउन नसक्दा युवालाई खेलकुद अभ्यासमा कठिनाइ र फुटबल प्रतियोगिता आयोजना गर्न नपाएको एभग्रीन युवा क्लबका अध्यक्ष नीरज राम्जालीले बताए । ‘खुलामञ्चमा पछिल्लो समय खेलकुद अभ्यास गर्न गाह्रो छ, ढुङ्गा, बालुवा र सडक कालापत्रे गर्ने अलकत्रालगायतका सामग्री खुलामञ्चमा राख्दा अभ्यास गर्ने मैदानको स्वरुप बिग्रिएको छ, खेलकुद अभ्यासमा युवा घाइते हुने अवस्था सिर्जना भएको छ’, अध्यक्ष राम्जालीले भने ।

ncll 2

खुलामञ्चलाई मिनी रङ्गशाला बनाउने योजनासहित अघि बढे पनि बजेटको निरन्तरता नहुँदा पूर्वाधार निर्माण अलपत्र परेको हो । खुलामञ्च खेलमैदान मात्र नभएर व्यापारिक मेला महोत्सव, सांस्कृतिक कार्यक्रम र राजनीतिक सभा हुने स्थल पनि हो । बजेटमा निरन्तरता नहुँदा निर्माणाधीन प्यारापिट अलपत्र छ । सङ्घ, प्रदेश र स्थानीय तहले खुलामञ्चको पूर्वाधार निर्माणमा प्राथमिकता नदिएको युवा क्लबको गुनासो छ ।

jagdamba.cement

अलपत्र अवस्थामा रहेको खुलामञ्चलाई पूणर्ता दिने गरी बजेटको लागि नगरमा छलफल अघि बढाउने बेनी नगरपालिका-७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । कालीगण्डकी किनारतर्फ खुलामञ्चलाई फराकिलो बनाउने किसिमले प्यारापिट निर्माणका लागि सुरु गरिएको काम पिल्लर राख्नेमा मात्र सीमित भएको छ ।

जिल्ला सदरमुकाम बेनीमा फराकिलो प्यारापिटसहितको स्तरीय रङ्गशाला बनाउने योजनासँगै जिल्ला खेलकुद विकास समितिले २०७४ सालमा डिपिआरसहित रु नौ करोडको लागत अनुमान सार्वजनिक गरेको थियो ।

कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानोभन्दा फराकिलो ११/११ जना फुटबल खेल्न मिल्ने खेलमैदान बनाउन ९६ मिटर लम्बाइ र ४५ मिटर चौडाइ भएको मिनी स्टेडियम बनाउने योजना छ । हालसम्म रु तीन करोडभन्दा बढी लगानी भएको खुलामञ्चलाई व्यवस्थित बनाउन रु नौ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

कोरोना कहर र त्यसपछि समेत बजेट विनियोजन नभएपछि खुलामञ्चको पूर्वाधार निर्माण प्रभावित बनेको हो । आर्थिक वर्ष २०७७/०७८ मा यो योजनामा कतैबाट पनि बजेट विनियोजन भएन । आव २०७८/७९ मा पनि विगतमा दिएको आश्वासनअनुसार बजेट विनियोजन नहुँदा खुलामञ्चको स्वरुप फेर्दै रङ्गशाला बनाउने योजना अधुरै बन्ने भएको हो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७