बुवाको किरिया गरेर पिण्ड दिंदै गर्दा पूर्व सांसद थापाको निधन


२९ जेष्ठ २०७९, आईतवार
bkt TKAnkvyEgc

पाल्पा । पाल्पाका पूर्व सांसद भद्रबहादुर थापाको शनिबार निधन भएको छ । रामपुर नगरपालिका-१० बर्दले बस्ने थापाको ७३ वर्षको उमेरमा शनिबार भएको हो । पूर्व सांसद थापा करिब दश वर्षअघिदेखि मुटुरोगको बिरामी थिए । स्व. थापाको कालीगण्डकी नदीको बर्दलेघाटमा वैदिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।

उनी विसं २०४९ मा तत्कालीन गेझा गाविसको पहिलो अध्यक्षका रूपमा निर्वाचित भएका थिए । नेकपा (एमाले) बाट निर्वाचित भई विसं २०४९ देखि २०५४ सम्म गेझा गाविसको अध्यक्षका रूपमा सेवा गरेका थापा २०५४ मा जिल्ला विकास समिति पाल्पाको उपसभापति, २०५६ मा पाल्पा क्षेत्र नं १ को प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए । स्व. थापाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

विसं २००६ मा रामपुर-१० को गेझामा स्व बुबा कुवेरसिं थापा र आमा मनीमाया थापाका जेठो सन्तानका रूपमा जन्मिएका उनले विसं २०३६ देखि १४ वर्षसम्म भानुभक्त मावि गेझामा अङ्ग्रेजी विषय अध्यापन गराएका थिए ।

आफ्ना बुवाको किरिया गरेर पिण्ड दिँदै गर्दा किरिया कर्म सम्पन्न नहुँदै उनको बिहान ९ बजेतिर निधन भएको हो । बुवा ६२ वर्ष अगाडिदेखि बेपत्ता भएकामा अब जीवितै नरहेको निष्कर्षका साथ उनले १२ दिन अगाडिदेखि बुबाको किरियाकर्म गरिरहेको स्थानीय दामोदर तिमिल्सिनाले जानकारी दिए ।

पाल्पाका नेकपा (एमाले) र नेपाली कांग्रेसका नेता, जनप्रतिनिधि, कार्यकर्ता, समाजसेवी, बुद्धिजीवीलगायत कालीगण्डकी नदीमा पुगेर थापाको पार्थिक शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७