चितुवाको पञ्जाबाट यसरी फत्किन आठ वर्षीया बालिका


२९ जेष्ठ २०७९, आईतवार
chituwa

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका-४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूणर्सिं थापाले जानकारी दिए । घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उनले बताए । मेडिकलका डा. महेश विक नेतृत्वमा बालिकाको उपचार गरिएको छ ।

बुवाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन् । त्यही बेला चितुवाले आक्रमण गरेको र बुवाआमा दौडिएर आउने बित्तिकै चितुवा भागेको जनाइएको छ ।

पछिल्लो केही वर्षयता जिल्लाका विभिन्न पालिकामा चितुवाको आतङ्क छ । सबैभन्दा बढी आतङ्क भानु नगरपालिकामा छ । चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७