याङ्ग्री र लार्केको पानी वितरणका लागि पाइप बिच्छ्याइँदै


२९ जेष्ठ २०७९, आईतवार
Yagri larke scaled

काठमाडौं । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार ६०० र एक हजार ८०० डायमिटरमा पाइप बिच्छ्याउन थालिएको छ ।

दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप बिच्छ्याउन थालिएको हो । पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलदेखि चाबहिलसम्म एक हजार ४०० डायमिटरको पाइप बिच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

Yangri larke1

दोस्रो चरणमा एक हजार ६०० र एक हजार ८०० डायमिटरको पाइप बिच्छ्याएपछि यसबाट दैनिक २९ करोड लिटर पानी ल्याउन सकिने निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रबाट साढे दुई किमीसम्म एक हजार ८०० डायमिटरको पाइप बिच्छ्याइने छ । साढे दुई किलोमिटरभन्दा तल चाबहिलसम्म नै एक हजार ६०० डायमिटरको पाइप बिच्छ्याइनेछ ।

याङ्ग्री र लार्केको पानी आउनुअघि नै पनि मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आउने भएपछि ठूलो आकारको पाइप बिच्छ्याइएको उनले सुनाए । वर्षाको समयमा एउटा खोलाबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी ल्याउन सकिने जनाइएको छ । याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन तयारी सुरु भएकै बेला निर्देशनालयले भने पाइप बिच्छ्याउन थालिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७