चितुवा नियन्त्रणका लागि राखियो खोर


३० जेष्ठ २०७९, सोमबार
Chituwa Tanahu
फाइल फोटो

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका १ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ । शनिबार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा आइतबार बन्दीपुर-१ बाघदलेमा फलामे खोर राखिएको हो ।

बन्दीपुर-४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर -१ बागदलेमा भिमलाल गरञ्जा घाइते भएका छन् । दुवै आक्रमणको घटना घरमै भएको हो । घाइतेको अवस्था खतरामुक्त रहेको छ । दुवै घाइतेको डुम्रेस्थित मोती मेडिकलमा उपचार गरिएको थियो । चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि बाख्रा सहितको खोर थापिएको बन्दीपुर-१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
सतर्क रहन आग्रह

बन्दीपुरमा केही घण्टाको फरकमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि सतर्कता अपनाउन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । दुवै आक्रमणको घटनास्थल २५० मिटर वरपर छ ।

एकचोटी आक्रमण गरेको चितुवाले पुनः आक्रमण गर्न सक्ने सम्भावना भएकाले सतर्क रहन कार्यालयले आग्रह गरेको छ । सहायक वन अधिकृत काशीराज पण्डितले उक्त चितुवाले फेरि मानिसलाई आक्रमण गर्ने सम्भावना भएकाले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरे । ‘चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाऔँ, झाडी सफा गरौं, एक्लै नहिँडौं’, उनले भने, ‘बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौं ।’

पछिल्लो केही वर्ष यता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको वनको भनाई छ । ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नेतर्फ सबै लाग्नुपर्छ’, उनले भने ।

जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । ‘तनहुँमा विशेष गरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्नसक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला-बेलामा जानकारी गराएका छौं’, डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, ‘चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।’

वनजङ्गलमा पाइने जीवजन्तु मानिसले शिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ ।

विसं २०७४ फागुन १ गते पहिलोपटक जिल्लामा भानु नगरपालिका-३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७