किसानले मल नपाएर छटपटाइरहेका छन्, कृषिमन्त्री विदेश शयरमा छन् : झपट रावल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद झपटबहादुर रावलले वर्तमान सरकार कुम्भकणर्को निन्द्रामा रहेको आरोप लगाएका छन् । आज (सोमबार) को बैठकमा संसद स्थगन प्रस्तावमाथिको छलफलका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
एमालेका १५ जना सांसदले जरुरी महत्वको प्रस्ताव दर्ता गर्दै आजको छलफल स्थगित गर्न माग गरेको थियो । एमाले प्रमुख प्रस्तावक रहेको उक्त प्रस्ताव दर्ता भएकोमा उनले संसद सचिवालय र सभामुखलाई धन्यवाद दिए । ‘सरकार कुम्भकणर्को निन्द्रामा छ । कृषिमन्त्री ज्यू खोजी गर्यौँ, तर उहाँ नेपालको किसानहरुको जल्दोबल्दो समस्यासँग बेखबर हुनुहुन्छ ।’
उनले भने, ‘उहाँ विदेश शयर गरिरहनु भएको छ भन्ने कुरा हामीले मन्त्रालय पुगेपछि सुन्यौं ।’ उनले किसान मल नपाएर छटपटाएको बेलामा विभागीय मन्त्री ‘कानमा तेल हालेर’ बेखबर भन्दै खेद प्रकट गरे । ‘किसान मल नपाएर छटपटिएरहेको बेलामा सम्बन्धित विभागीय मन्त्री कानमा तेल हालेर बेखबर भएर विदेश भ्रमण गर्ने कृषीमन्त्रीप्रति म खेद प्रकट गर्न चाहन्छु ।’ उनले भने ।