ओली र नारायणकाजी श्रेष्ठबीच अढाइ घण्टा भेटवार्ता

काठमाडौं । बाम एकताको चर्चा चलिरहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । ओली र श्रेष्ठबीच आइतबार साँझ ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।
ओलीसँगको भेटमा मुख्यतः तीन विषयमा छलफल भएको नेता श्रेष्ठले जानकारी दिएका छन् । ‘राष्ट्रियताको विषय, राजनीतिक परिस्थिति नेपालको लोकतान्त्रिक तथा कम्युनिष्ट र बामपन्थी आन्दोलन गरी तीन विषयमा छलफल भयो’, उनले सुनाए । ओली र श्रेष्ठबीच करिब अढाइ घण्टा छलफल भएको जनाइएको छ ।
पछिल्लो केही समययता एमाले र माओवादी नेताहरुबीच भेटवार्ताले भित्रभित्रै तीव्रता पाएको छ । बाम एकताका विषयमा छलफल भइरहेको नेताहरु बताउँछन् । स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएसँगै नेकपा एमाले र माओवादी केन्द्र नजिकिन थालेको स्रोत बताउँछ ।
जेठको दोस्रो साता एमालेका पोलिटब्युरो गोकुल बास्कोटाले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेदेखि शुरु भएको संवाद आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीकै तहमा पुगेको हो ।