अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक


३१ जेष्ठ २०७९, मंगलवार
aanapurna

लमजुङ । पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ । हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८/१० मात्र आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए ।

उनका अनुसार वर्षायाम सुरु हुन लागेको र बाटोहरुमा समस्या हुने, बेसिजन समय भएकाले पर्यटक घट्न थालेको हो । विश्व पर्यटन बजारका अन्नपूर्णमध्ये एक यस अअन्नपूर्ण पदमार्ग मानिन्छ । यहाँ विगतमा ५००/६०० भन्दा बढी दैनिक पर्यटक आउने गरेको थियो । यही पर्यटकका कारण पर्यटन व्यवसायमा रमाउँदै आम्दानी गरेका पर्यटन व्यवसायी भने पर्यटक घट्न थालेसँगै आम्दानीमा कमी हुँदा चिन्तित हुन थालेका छन् ।

कोरोनाको पहिलो, दोस्रोबाट प्रभावित भएपछि दोस्रो कोरोना सङ्क्रमण जोखिम कम भएसँगै विस्तारै चहलपहल हुन थालेको पनि पुनः कोरोनाको तेस्रो लहरले पदमार्ग सुनसान भएको थियो । सोपश्चात् उक्त जोखिम कम भएपछि बढ्दै गरेको पर्यटक केही हप्ताबाट घट्दै यतिबेला न्यून आउँदा पर्यटन व्यवसायी थप मर्कामा परेको उनीहरुको गुनासो छ ।

अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसयी लमजुङ मस्र्याङ्दी गाउँपालिका-४ जगतका पच्चबहादुर गुरुङले भने, ‘पर्यटकको चाप हुँदा दैनिक रु ५०/६० हजार आम्दानी हुन्थ्यो, तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य जस्तै भएको छ ।’ घर खर्चदेखि अन्य खर्चमा पनि यस व्यवसायबाट आम्दानी रकमबाट उपयोग गर्दै आएपनि पर्यटक नआउँदा पैसाको मुख देख्न पनि रहरजस्तै हुन थालेकोले चिन्ता बढेको उनको भनाइ छ । अर्का पर्यटन व्यवसायी खुसबहादुर तामाङले पनि केही हप्ताअघिसम्म दैनिक रु ४०/५० हजार आम्दानी गरेका थिए तर यतिबेला यस पदमार्गमा पर्यटक ह्वात्तै घट्दा रु चार/पाँच हजार पनि दिनमा हुन छाडेको बताए ।

उनीहरुको मात्र होइन उनीहरु जस्ता यस पदमार्ग आसपासका करिब तीन हजार ५०० भन्दा बढी पर्यटन व्यवसायीको समस्या पनि उस्तै छ । कोरोनाले थला पारेरमाथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ, बर्खायाम सुरु हुन लागेसँगै पर्यटक घट्दा अझै केही महिनासम्म पदमार्ग सुनसान हुने देखिन्छ । यस पदमार्गमा सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायतका देशका नागरिक आउने गरेको उक्त केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अब बर्खायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्ने छन् । यस पदमार्गमा सन् २०२२ को हालसम्म चार हजार ९०० हाराहारीमा पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक गुरुङले बताए ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङ्गे चौतारमा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारी साधनमा पर्यटक आउने गर्दछन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७