परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ता बढ्दै


३१ जेष्ठ २०७९, मंगलवार
Garva nirodhak
सांकेतिक तस्वीर

कैलाली । कैलालीमा परिवार नियोजनका अस्थायी साधनको प्रयोगकर्ता बढ्न थालेका छन् । पहिले लुकिछिपी अस्थायी साधन लिन आउनेहरु आजभोलि भने खुलेरै स्वास्थ्य संस्था तथा स्वयमसेविका कहाँ आउन थालेका छन् । सन्तानको रहर पुगेका र सन्तानबीच जन्मान्तर राख्न अस्थायी साधनले सहयोग गरेको स्वयमसेवीले बताए ।

टीकापुरकी साधना जोशीको पढ्दा पढ्दै विवाह भयो । उनको पढ्ने रहर अझैँ बाँकी थियो । पढ्दै गर्दा विवाह भए पनि पढाइ पूरा गर्न श्रीमानसँगको सल्लाहअनुसार साधनाले परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्न थालिन् । ‘‘मैले तीन महिने सङ्गिनी सुई लगाउन थालें, आफ्नो पढाइलाई निरन्तरता दिएँ’, उनले भनिन्, ‘‘विवाह भएको दुई वर्षसम्म बच्चा नजन्मिएपछि सासुआमाले थाहा पाउनु भयो, किन अस्थायी साधन प्रयोग गरेको भनी रिसाउनु भयो ।’

सासूआमाले किन अस्थायी साधन प्रयोग गरेको भनेपछि साधनालाई तनाव भयो । उहाँलाई कतै बाझोपनको समस्या हुन्छकी भन्ने पीरले सताए पनि हिम्मत हारिनन् । ‘मेरो पढाइ एक वर्ष अझैँ बाँकी थियो, मैले अझैँ एक वर्ष पढ्छु, त्यसपछि बच्चा पाउने योजना भएको सुनाएँ ।’ साधनाले भनिन्, ‘‘पढाइ सकेपछि बच्चा पाएँ, अहिले बच्चा आठ महिनाको छ । जन्मान्तरका लागि फेरि अस्थायी साधन प्रयोग गरिरहेकी छु ।’

सुरुसुरुमा अस्थायी साधनको प्रयोगबारे गलत बुझाइका कारण प्रयोग गर्न आनाकानी गर्नेहरु आजभोलि भने सहजै प्रयोग गर्न थालेका छन् । लम्की चुहाकी निर्मला रिमालको पहिलो सन्तान छोरी जन्मियो । उनलाई लगत्तै अर्को बच्चा जन्माउने रहर थिएन । ‘‘डराइडराइ अस्थायी साधन प्रयोग गर्न थालेँ, पहिलो सन्तान पाँच वर्षपुगेपछि फेरि दोस्रो सन्तान जन्माए, अहिले स्वास्थ्यमा केही समस्या छैन’, निर्मलाले भनिन्, ‘‘अहिले पनि निर्धक्कसँग अस्थायी साधन प्रयोग गरिरहेकी छु ।’

टीकापुरकी प्रतिमा चौधरीले पहिलो सन्तानलाई जन्म दिइसकेपछि तीन महिने सङ्गिनी सुई प्रयोग गर्न थालिन् । बच्चा तीन वर्ष भइसकेपछि नोकरी गर्न थालेकी उनी हाल एउटा विद्यालयमा बालविकास शिक्षिकाका रुपमा कार्यरत छिन् । करिब सात वर्षको फरकमा अर्को सन्तान जन्माउने तयारीमा शिक्षिका चौधरी थिइन् । परिवार नियोजनका अस्थायी साधनको प्रयोगले गर्दा आफूले चाहेको काम गर्न सकेको उनको बुझाइ थियो । ‘मेरो छोरी आठ वर्ष पुग्न लागिन्, अहिले मेरो फेरि सात महिनाको गर्भ छ’, शिक्षिका चौधरीले भनिन्, ‘‘सन्तान हुर्काइसकेपछि जागिर खाने रहर पनि पूरा भयो, अब फेरि अर्को बच्चा पाउँदैछु । अस्थायी साधन प्रयोग नगरेको भए यो सम्भव हुने थिएन ।’

गाउँघरमा पनि अस्थायी साधनको प्रयोग र महत्वका बारेमा मानिसको बुझाइ सकारात्मक बन्दै गएको छ । कुनै समय लुकिलुकी परिवार नियोजनका अस्थायी साधन माग्न आउने महिला आजभोलि भने खुलेरै माग्न आउन थालेका छन् । पछिल्ला समय गाउँघरमा अस्थायी साधन प्रयोगकर्ता बढ्न थालेको महिला स्वास्थ्य स्वयमसेविका नन्दादेवी साउदले बताइन् ।

‘विगतमा हामीले परिवारनियोजनका साधनबारे कुरा गर्दा मानिसहरु लजाउँथे’, उनले भनिन, ‘आजभोलि घरमै पनि धेरैले अस्थायी साधन माग्न आउने, सल्लाह लिन आउने गरेका छन् ।’ पहिले परिवार नियोजनका अस्थायी साधनको प्रयोगप्रति गलत बुझाइ रहे पनि पछिलो समय गाउँघरमा यस्ता गलत धारण हट्दै गइरहेको र यसप्रति आकर्षण बढ्दो रहेको स्वास्थ्य स्वयमसेविकाको अनुभव छ । टीकापुर नगरपालिकाका सिनियर अनमी हेमा ज्ञवालीले स्वास्थ्य संस्थामा परिवारनियोजनका साधन प्रयोग गर्नेको संख्या बढ्दै गएको बताए ।

‘‘तथ्याङ्क हेर्दा प्रयोगकर्ता बढेका देखिन्छ । महिलाहरु प्रजनन स्वास्थ्यबारे सचेत बन्दै गएका छन्’, उनले भनिन्, ‘‘हामीले गाउँ गाउँमा गएर शिविर पनि सञ्चालन गरिरहेका छौँ । यस वर्ष १२ वर्षसम्म पाठेघरमा राखिने आइयुसिडी सेवा लिने महिला ३५३ जना, इम्प्लान्ट सेवा एक हजार ६२० जना, डिपो एक हजार २०१,र पिल्स खाने महिला ८०१ बढेका छन् । त्यस्तै कण्डमको खपत कण्डम ७० हजारभन्दा बढी छ ।’

स्वास्थ्य संस्थाले लामो जन्मान्तर गर्न चाहने वा सन्तानको रहर पुगेकालाई लामो समयसम्म जन्मान्तर हुने साधन प्रयोगमा प्रोत्साहन गरिरहेका सिनियर अनमी ज्ञवालीले बताइन् । ‘हामीले स्वास्थ्य शिविर लिएर जाँदा यो सेवा लिनेहरु अझ बढेका छन्’, उनले भनिन्, ‘यसका साथै पिल्स पनि तत्कालका लागि प्रयोग गर्न सल्लाह दिन्छौँ, जस्तै छोटो समयमात्र साधन आवश्यक भएकालाई यसो गर्ने सल्लाह दिँदै आएका छौँ ।’ दुर्गा देवकोटा/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७