नारायणगढ-मुग्लिन र आबुखैरेनी सडक दुईतर्फी सञ्चालन


३१ जेष्ठ २०७९, मंगलवार
nagdhunga Sadak pahiro 1 ILO7QNa33M

काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चार दिनपछि आँबुखैरेनी सडक दुईतर्फी
भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका-४ पावरहाउस नजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो । शुक्रबार सडक भासिँदा एकतर्फी मात्रै सवारी सञ्चालन हुँदै आएको थियो ।

शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ । साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ । दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको छ । यात्रुवाहक सवारीसाधनलाई दुईतर्फी सञ्चालन गरिए पनि मालवाहक सवारीसाधनलाई भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७