पेरुलाई पराजित गर्दै अस्ट्रेलिया पाँचौंपल्ट विश्वकपमा छनोट


३१ जेष्ठ २०७९, मंगलवार
Australia Team 22

काठमाडौँ । अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी प्रतिष्पर्धी पेरुमाथि पेनाल्टी सुटआउटमा पराजित गर्दै अस्ट्रेलिया आसन्न फिफा विश्वकपमा छनोट भएको छ ।

कतारमा भएको छनोट खेलमा अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा अस्ट्रेलियाले ५-४ गोलअन्तरमा खेल जितेको हो । पेनाल्टी सुटआउटका लागि अस्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले गोलरक्षक कप्तान म्याट रायनको स्थानमा एन्ड्र्यू रेडमाइनलाइ सब्स्टिच्यूड गरी ठूलो जोखिम उठाएका थिए ।

सिडनी एफसीका ३३ वर्षीय एन्ड्र्यूले यसअघि नेपालसँग खेलेका थिए । त्यो नै प्रतिस्पर्धात्मक प्रतियोगितामा अस्ट्रेलियाका लागि उनको एक मात्र खेल थियो । सन् २०२१ को जुन ११ मा विश्वकप छनोटको दोस्रो लेग अन्तर्गत कुवेतमा भएको नेपाल र अस्ट्रेलियाबीचको खेलेयता एन्ड्र्यूले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका हुन् । उनले सन् २०१९ मा दक्षिण कोरियासँगको मैत्रीपूणर् खेलमा डेब्यू गरेका हुन् ।

एन्ड्र्यूले पेरुका लागि अन्तिम पेनाल्टी प्रहार गरेका एलेक्स भालेराको प्रहार बचाएर टिमलाई आगामी नोभेम्बरमा पुनः कतार आगमन निश्चित गरेका थिए । सन् २००६ यता अस्ट्रेलियाले सबै विश्वकप खेलेको छ ।

अस्ट्रेलियाले समूह डी मा साविक विजेता फ्रान्स, डेनमार्क र ट्यूनिसियासँग खेल्नुपर्नेछ । कतार विश्वकपका लागि छनोट हुने अस्ट्रेलिया ३१औं देश हो । अन्तरमहादेशीय प्लेअफ अन्तर्गत मंगलबार ओसियानाबाट छानिएको न्युजिल्यान्ड र उत्तर अमेरिकाको कोस्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ । सो खेलपछि कतार विश्वकपमा सहभागी टिम संख्याले पूर्णता पाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७