अर्थमन्त्रीको स्पष्टीकरण : बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको कुरा झूटो हो


३१ जेष्ठ २०७९, मंगलवार
janardan sharma

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा भ्रामक, झूटा र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन् ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री शर्माले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले मंगलबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको बताए ।

अर्थमन्त्री शर्माले कार्य सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको बताए । सरोकारवालाहरुको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाहरुकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्री शर्माको भनाइ थियो ।

उनले भने, ‘बजेट तुर्जमासम्बन्धी विषयलाई लिएर केही मिडियाहरुमा आएको समाचारबारेमा माननीय ज्यूहरुले उठाउनु भएको प्रश्नको बारेमा म स्पष्ट गर्न उभिएको छु । नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार तोकिएको जिम्मेवारी भित्र रहेर कार्य सम्पादन हुने कुरा म स्पष्ट गर्न चाहन्छु ।’

बजेट तथा आर्थिक विधेयक तर्जुका सम्बन्धमा स्पष्ट रुपमा परिभाषित गरिएका प्रक्रियाहरु रहेको र ती प्रक्रियाहरुअन्तर्गत रहेर मुख्यतः अर्थसचिव र राजस्व सचिव दुई वटा सचिव रहने व्यवस्था रहेको उनले स्पष्ट पारे ।

उनले थपे, ‘उहाँहरुको मातहतमा रहनु भएका अन्य विभागीय प्रमुखहरु र कर्मचारीहरुको तहमा विभिन्न स्तरमा छलफल भएर र विभिन्न सरोकारवालाहरुबाट आएका सुझावहरुलाई समेत ध्यान दिएर प्रस्तावहरु बन्ने गर्दछ । यो कुरा म यहाँ जानकारी गराउन चाहन्छु । र, त्यसलाई आवश्यक तयारी गरेर निष्कर्षमा ल्याउने र अर्थमन्त्रीेले सरकारको नीति र भिजनलाई नीतिगत रुपमा निर्देशन दिने त्यस आधारमा बजेट तयार हुने परम्परा रहेको र अहिले पनि त्यसरी नै बजेट तयार भएको म स्पष्ट गर्न चाहन्छु ।’

अब छलफल हुँदा प्राप्त भएका सुझावहरुलाई बढिभन्दा बढि समेटने कुरामा ध्यान दिने र सम्बन्धित मन्त्रालयहरुले तय गरेर पठाएका कार्यक्रम र योजनाहरु अर्थ मन्त्रालयका बजेटसँग सम्बन्धित पदाधिकारीहरुबीचको दुई पक्षीय छलफलको आधारमा त्यसलाई टुंग्याउने परम्परा रहेको अर्थमन्त्रीको भनाइ छ ।

‘सोही अनुसार नै अहिलेको बजेट पनि बनेको कुरा म स्पष्ट गर्न चाहन्छु । अव यहाँ अहिले एउटा जुन विषय उठेको छ कि बजेट निर्माण गर्दा राजस्वको दरहरु गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल गर्‍यो भन्ने सन्दर्भमा जुन विषय उठेको छ । त्यो अत्यन्त भ्रामक, कपोकल्पित एउटा झुटा कथा बनाइएको छ । यसको म खण्डन गर्न चाहन्छु । खारेज गर्न चाहन्छु’, उनले बाहिर आएका कुराहरुबारे भने ।

‘मन्त्रालयका जिम्मेवार पदाधिकारीहरु भन्नाले सचिव ज्यूहरुको नेतृत्वमा राजस्व सचिवको नेतृत्वमा राजस्व सम्बन्धि तयारी र अर्थ सचिवको नेतृत्वमा अर्थ सम्बन्धि तयारी दुवै तयारी पनि हुने गरी कार्य विभाजन हुने, कमिटीहरु बन्ने र ती कमिटीहरुले नै यी कुराहरुलाई प्रक्रियागत रुपमा टुंग्याउने भएको हुनाले यी कुराहरु त्यसरी सम्पन्न भएको म स्पष्ट गर्न चाहन्छु’, उनले थपे, ‘सबै कामहरु आधिकारिक ढंगले भएको र अर्थमन्त्रीको हैसियतले जुन कार्य सम्पादन नियमावली अनुसार प्राप्त भएको जिम्मेवारी प्रति उत्तरदायी भएर बजेट बनाइएको कुरा यहाँ स्पष्ट गर्न चाहन्छु । कुनै पनि अनाधिकार व्यक्तिले बजेट बनायो भन्ने कुरा झुटा र भ्रामक भएको कुरा स्पष्ट पार्न चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७