प्रधानमन्त्री सैन्य सम्झौता गर्न अमेरिका जान लाग्नु भएको होइन : परराष्ट्रमन्त्री


२०७९ जेठ ३१ मंगलबार ०८:०५ बजे

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई शङ्काको दृष्टिले नहेरी दिन आग्रह गरेका छन् ।

आज मङ्गलवार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मन्त्री खड्काले दुई पक्ष सम्बन्धलाई थप बलियो बनाउन, आपसी सम्बन्धलाई गति प्रदान गर्न र सम्बन्धका नयाँ आयाम ल्याउनका लागि दुई देशको भ्रमण तथा छलफल अपरिहार्य रहेको दाबी गरे ।

उनले भने, ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको इन्गेजमेन्टलाई प्रभावकारी रूपमा अगाडि बढाउने काममा परराष्ट्र मन्त्रालय तल्लीन छ । यो महिनाको सुरुवातमा नेपालका प्रधानमन्त्रीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्नुभएको थियो । भ्रमणको अवसरका नेपाल-भारतबीच आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धका साथै दुई पक्ष सम्बन्धका विविध विषयमा छलफल भएको थियो । यस्तै चीनका परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गर्नुभएको थियो । उच्च राजनीतिक तथा कुटनीतिक तहमा हुने भ्रमणको आदानप्रदानले दुई पक्ष सम्बन्धलाई थप बलियो बनाउँछ । यस्ता भ्रमण तथा भेटघाटका विषयलाई शङ्काको दृष्टिले नहेर्न म आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको मन्त्री खड्काले बताए । उनले नेपालको स्वाधीनता, स्वतन्त्रतालाई ध्यान दिएर भ्रमण हुने भन्दै सरकार सार्वभौमसत्ता, स्वाधीनताप्रति गम्भीर रहेको बताए ।

मन्त्री खड्काले अमेरिकी जनरलको नेपाल भ्रमण ’स्टेट पार्टनरशिप प्रोग्राम’ (एसपीपी) मा हस्ताक्षरका लागि नभएको बताए । उनले जर्नेलको भ्रमणमा एसपीपीमा हस्ताक्षर अर्थात् अमेरिकी सैन्य गठबन्धन गर्ने विषय हल्ला मात्रै भएको दाबी गरे । उनले पत्रपत्रिकामा आएको हल्लाको पछि नलाग्न सांसदहरूलाई आग्रह गरे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७