चैते धान भित्र्याउन किसानलाई भ्याई-नभ्याई


१ असार २०७९, बुधबार
dhan 1

कैलाली । कैलालीको भजनी नगरपालिका-८ नवलपुरका रामप्रसाद चौधरी यतिबेला खेतमा व्यस्त छन् । उनलाई एकातिर वर्षे धान रोपाइँको चटारो छ भने अर्कोतिर चैते धान भित्र्याउन । रामप्रसादले यसअघि लगाइएको धान काटेर वर्षेधान रोपाइँको तयारी गरिरहेका छन् । रासायनिक मलको खोजीमा रहेका उनले मल पाएको भए आजसम्म खेत रोपिसकिने बताए ।

चौधरीले तीन बिघा जमिनमा चैते धान रोपेका छन् । भजनीका अधिकांश किसान चैते धान भित्र्याउनमै व्यस्त छन् । फागुनको अन्तिम वा चैतको पहिलो साता रोपिएको चैते धान किसानले भित्र्याउन लागेका हुन् । ‘मौसमले निकै साथ दिएको छ । धान काट्न र सुकाउनका लागि मौसमले साथ दिएपछि खेत रोपाइँभन्दा पाकेको धान भित्र्याउन लागिपरेका हौं’, रामप्रसादले भने, ‘हाम्रा लागि चैते धान नै खाद्यान्नको मुख्य आधार हो । वर्षेधान त बाढी र डुबान भएन भन मात्रै भित्र्याउन पाइन्छ । त्यही पनि केही उच्च ठाउँमा वर्षे धान रोप्ने तयारी गरेको छु ।’

भजनीका किसानमा हिउँदे खेती गर्न पाए पनि वर्षे खेतीमा आकर्षण निकै कम हुने गरेको छ । बर्सातमा बाढी र डुबानको निकै जोखिम रहेको भजनीमा अधिकांश क्षेत्र डुबानमा पर्छ । लामो समयसम्म डुबान रह्यो भने लगाइएको अन्नबाली कुहिएर जाने भएकाले लगानी मात्रै गर्नुपर्ने तर उत्पादनको ग्यारेन्टी नहुने भएपछि वर्षे बालीमा आकर्षण कम हुँदै गएको भजनीका अर्का किसान सुन्दर चौधरीले बताए ।

‘कतै उच्च स्थानहरुमा किसानहरुले धानबाली रोप्ने गरेका छन् । हुलाकी राजमार्गअन्तर्गतको नगरपालिकाको आसपासका अधिकांश खेतीयोग्य जमिन खाली हुने गरेको छ’, सुन्दरले भने, ‘चैते धान लगाएका किसानहरूले वर्षे धान लगाउँदैनन् । मौसम राम्रो भयो भने चैते धान सहजै भित्र्याउन सकिन्छ । त्यसैले पनि खेत बाँझै राख्ने गरेका हुन् ।’

भजनी नगरपालिका-६ का विष्णुप्रसाद डगौंराले दुई बिघा जमिनमा चैते धान रोपेका छन् । उनले केही धान भित्र्याई सकेका छन् । अहिले पनि विष्णुप्रसाद खेतमै व्यस्त छन् । वर्षे धानभन्दा राम्रो उत्पादन दिने भएपछि विष्णुप्रसादले १० कट्ठाबाट सुरु गरेको चैते धानको खेती दुई बिघामा पुर्‍याएको बताए । ‘वर्षभरिका लागि खाने धान हामी असारमै भित्र्याउने गछांैँ । बर्षातको त भरै हुँदैन ।’ विष्णु प्रसादले भने, ‘खाने र बेच्ने धान चैते धान नै हो । यतिबेला भने धानको समर्थन मूल्य नपाउँदा सस्तोमा धान बेच्नुपर्ने बाध्यता छ ।’

वर्षे धानको भन्दा बढी लगानी भने चैते धानमा भए पनि सिँचाइका लागि बढी समस्या हुने गरेको किसानहरुको गुनासो छ । घाम र पानीको सन्तुलन मिल्यो भने उत्पादन राम्रो भए पनि बोरिङको पानीले सिँचाइ गर्नुपर्ने भएका कारण विद्युत्को बिल महँगो हुनजाने गरेको अर्का किसान जङ्गबहादुर साउदले बताए ।

उनले सरकारले अनुदान दिनुभन्दा पनि सिँचाइका लागि बिजुलीमा अनुदान दिएको भए निकै सहज हुने बताए । ‘दिनभर सिँचाइ गर्दा दुई हजारसम्म पनि बिजुलीको बिल आउने गरेको छ । सरकारले कृषिका लागि बिजुलीमा अनुदान दिए सहज हुने थियो’, जङ्गबहादुरले भने, ‘स्थानीय सरकारसँग पटकपटक भन्ने गरेका छौँ । आश्वासन आउँछ तर बिजुलीमा किसानलाई अनुदान आउँदैन ।’

चैते धानका लागि बजारीकरणको निकै समस्या छ । सरकारले किसानले उत्पादन गरेको धानको समर्थन मूल्य साउनपछि तोक्ने र चैते धानको खेती गर्ने किसानले असारमै धान भित्र्याउने भएका कारण समर्थन मूल्यमा नभई व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको किसान राजेन्द्र विश्वकर्माको गुनासो थियो । ‘उत्पादन हुन्छ तर बजारीकरणमा निकै समस्या छ ।

उत्पादन भएको वस्तुको भनेजस्तो मूल्य पाइँदैन’, राजेन्द्रले भने, ‘बजारीकरणमा सरकारले ध्यान दिएको भए उत्साहका साथ काम गर्न सकिन्थ्यो । खेती गर्दा उत्साह हुन्छ बिक्री गर्दा निराश हुनुपर्ने अवस्था छ ।’ भजनी, जोशीपुर, कैलारीलगायत क्षेत्रमा सयौँ बिघा क्षेत्रफलमा चैते धानको रोपाइँ हुने गरेको छ । केही वर्षपहिले परीक्षणका रुपमा मात्रै हुने गरेको चैते धानको खेतीमा भजनी नगरपालिकाले किसानलाई बीउलगायतमा अनुदान समेत दिँदै आएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७