मेलम्ची बाढीको एक वर्ष : अझै शुरु भएन पुनर्निर्माणको काम


१ असार २०७९, बुधबार
Melamchi

सिन्धुपाल्चोक । मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनर्निर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन ।

गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारबिहीनलाई पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त निणर्य हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ । बाढीले घरखेत बगाएपछि बेसहारा बनेका हेलम्बु-२ गणेशेबगरका गोरी तामाङका आँखा अझै ओभाएका छैनन् । बाढीले उनको घर बगायो भने खेत बगरमा परिणत भयो । उनी हाल सुुकुम्बासी बनेका छन् । ‘सरकारले घर बनाइदिने आश्वासन दिएको थियो, अझै त्यो हुन सकेको छैन’, उनले पीडा सुनाए ।

हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियोे । पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए । हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढी पीडित सरकारको बाटो हेरेर बसिरहेका छन् ।

हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योति बासको उचित व्यवस्था नहुँदा रोजगारीका लागि कतै निस्किन सकेका छैनन् । बाढी घर बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठ सुरक्षित बासस्थानकै खोजीमा भौंतारीरहेका छन् । ‘सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधँै सताउँछ’, उनले भने ।

प्राकृतिक विपद्का हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको जिल्ला हो । गत वर्ष केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । ‘निजी आवास निर्माणको प्रक्रिया अगाडि बढेको छ, केही समस्याका कारण यसमा ढिलाइ भएको छ’, उनले भने । यस्तै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ बाढी प्रभावितका लागि छिट्टै काम गर्ने बताउँछन् ।

खोलाको अतिक्रमण गरी घरलगायत संरचना निर्माण गर्दा पनि अत्यधिक क्षति भएको हो । मेलम्ची, इन्द्रावती र पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अघि आएको बाढीले बगाएपछि झन समस्या भएको छ । हेलम्बु-७ चनौटेमा नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माणबाट आवतजावतमा सहज भएको स्थानीयवासी बताउँछन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७