भव्य भवनमा अध्ययन गर्ने दरबार हाइस्कुलका विद्यार्थीको सिकाइस्तर कमजोर


१ असार २०७९, बुधबार
darbar high school

काठमाडौँ । भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ ।

गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीणर् नभएको अभिभावकले बताए । नेपालको आधुनिक शैक्षिक इतिहासमा महत्वपूणर् स्थान बनाएकाले संस्थागत विद्यालयबाट भानुमा छोरा भर्ना गरेकी दुर्गा गिरी दुई वर्षसम्म एउटै कक्षामा पढाउनुपर्दा दुःखी छिन् ।

‘गत वर्ष दुवै छोरालाई दरबार हाइस्कुलमा भर्ना गरें, कान्छो छोरो कक्षा ७ बाट ८ मा गयो, ९ मा भर्ना गरेको छोरो उत्तीणर् भएन, विद्यालयको नाम दरबार, पढाइ राम्रो भएन’, उनले भनिन् । दोलखाबाट राजधानी आएर दरबार हाइस्कुलमा दुवै छोरा पढाइरहेकी सुजना न्यौपानेको अनुभव पनि गिरीको भन्दा फरक छैन । उनका छोराहरू कक्षा सात र एकमा अध्ययनरत छन् ।

विद्यालयका निमित्त प्रधानाध्यापक शारदाकुमारी पौडेल कोरोनाका कारण अनलाइन कक्षा हुँदा धेरै विद्यार्थी जुम प्रविधिमा जोडिन नसकेका कारण गत शैक्षिक सत्रमा राम्रो परिणाम आउन नसकेको स्वीकार गर्छिन् । ‘परिणाम राम्रो नहुनुमा विद्यालय मात्र जिम्मेवार छैन, कोरोनाको समयमा विद्यालय खोल्न नसक्नु, विद्यार्थी प्रविधिमा जोडिएर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन नसक्नुलगायत कारणले सोचे जस्तो परिणाम आउन सकेन’, उनले भनिन् ।

सङ्घीय कानुनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन अभिभावक नै हुनुपर्ने व्यवस्था छ । तर स्थानीय सरकारले बनाएको कानुनमा भने अभिभावकसँगै शिक्षाविद् र स्थानीय समाजसेवी पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न सक्ने प्रावधान राखिएको छ । यही व्यवस्थाका कारण छोराछोरी संस्थागत विद्यालयमा पढाउने अभिभावक पनि विद्यालय व्यवस्थापन समितिको पदाधिकारी बन्ने गरेका छन् ।

अहिले भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका गोपाल महर्जनका बालबालिका पनि यहाँ अध्ययन गर्दैनन् । महर्जन स्थानीय समाजसेवीका रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका हुन् । सङ्घीय कानुनमा अभिभावक नै व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था भएका बेला पनि यहाँ भने बाहिरबाटै अध्यक्ष बनाउने गरिएको विद्यालयका शिक्षक र अभिभावकको आरोप छ । यसअघि व्यवस्थापन समिति गठन हुँदा शिक्षकहरूले अभिभावकलाई नै अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

काठमाडौँ महानगरपालिका शिक्षा शाखाका कर्मचारी र जिल्ला शिक्षा समन्वय एकाइबाट खटिइआएका कर्मचारीले भने स्थानीय सरकारले बनाएको कानुन देखाएर शिक्षाविद् वा समाजसेवीमध्येबाट पनि बनाउन सकिने सुझाव दिएपछि महर्जन अध्यक्ष भएका हुन् । विद्यालयका शिक्षक पदमबहादुर बटाला वरिष्ठ शिक्षक अखिलेशप्रसाद आजादले प्रधानाध्यापक पदबाट राजीनामा दिएपछि शैक्षिक, प्रशासनिक र आर्थिक काम गर्ने गरी तेस्रो नम्बर वरियताकी शिक्षिका पौडेललाई निमित्त दिएको बताउँछिन् । निमित्त दिएको लामो सयमसम्म पनि उनलाई प्रधानाध्यापक बनाउने वा अर्कोलाई दिने भन्ने निणर्य नहुँदा केही समस्या आएको उनले स्वीकार गरिन् ।

बटाला शिक्षक नियुक्त भएर आउँदा २०७० सालमा करिब ७० मात्र विद्यार्थी थिए । त्यसबेला औँलामा गन्न सकिने विद्यार्थी मात्र उत्तीणर् हुने गरेको उनको स्मरणमा अझै ताजा छ । त्यसबेलाको भन्दा अहिले ५० प्रतिशत विद्यार्थी उत्तीणर् हुँदा पनि गुणस्तर सुध्रिएको मान्नुपर्ने उनको तर्क छ । करिब ५०० विद्यार्थी रहेको विद्यालयमा अहिले भर्ना गर्न आउने क्रम जारी छ । तर कक्षामा स्थान अभावका कारण विद्यालयले भर्ना लिन सकेको छैन । एउटा कक्षामा करिब ४० विद्यार्थीमात्र अटाउँछन् । अर्को सेक्सन बनाउन समेत स्थान अभाव भएपछि भर्ना हुन आउने विद्यार्थीलाई फर्काउनु परेको अध्यक्ष महर्जनले बताए ।

काठमाडौँ महानगरपालिका-२७ का अध्यक्ष योगेशकुमार खड्गी आफू निर्वाचित भए लगत्तै विद्यालयको कमजोर गुणस्तरका बारेमा धेरै गुनासा आएको बताउँछिन् । विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्य भए पनि आफू निर्वाचित भएपछि बैठकका लागि कुनै जानकारी नआएको उनले सुनाइन् ।

‘विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडा कार्यालयले आफै केही गर्न सक्छ कि सक्दैन भन्ने विषयमा मैले कानुनी पक्षको अध्ययन गरिरहेको छु, वडाले केही गर्न नसक्ने अवस्था भएमा महानगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरेर सुधारका कामको थालनी गछौं’, उनले भनिन् । पूर्णप्रसाद मिश्र/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७