न्याय माग्न बच्चालाई दूध चुसाउँदै आमाले अनसन बस्नुपर्ने अवस्था लज्जास्पद : सांसद थापा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद थममाया थापाले दुधे बालक काख च्यापेर अनसनरत निहारिका राजपुतको मुद्दाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार समक्ष माग गरेकी छिन् ।
प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा बोल्दै सांसद थापाले एउटी आमाले दूध चुसाउँदै आमरण अनसन बस्नुपर्ने अवस्था आउनु नै लज्जास्पद भएको बताइन् । ‘राजधानी काठमाडौंको सडकमा एउटा नेपाली चेली काखमा दुधे बालक बोकेर न्यायको माग गर्दै आमरण अनसनमा छिन् । दुधे बालकलाई दूध चुसाउँदै आमरण अनसन बस्नुपर्ने कुरा लज्जास्पद हो ।’
उनले थपिन्, ‘राज्यका हरेकजसो निकायमा पुगेर पनि उनले न्याय पाउन सकेकी छैनन् । उनलाई अदालतले समेत न्याय दिन सकेको छैन । अहिले पाँच बुँदे माग राखेर उनी अनसनरत छिन् । उनको माग सम्बोधन गरियोस् ।’ उनले दिनानु दिन महिला हिंसाको दर बढिरहेको भन्दै नेपाली चेलीहरूमाथिको हिंसा न्यूनीकरण गर्न सरकार पूर्णरूपमा असफल भएको बताइन् ।