विवाह गर्न २० वर्ष कुर्नुपर्ने व्यवस्थाले अपराध बढाएको छ : कानुनमन्त्री


१ असार २०७९, बुधबार
govinda badi

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहका लागि २० वर्ष कुनुपर्ने व्यवस्थाले पनि अपराध बढाएको बताएका छन् ।

प्रतिनिधिसभाको आज (बुधबार) को वैठकमा बोल्दै मन्त्री कोइरालाले विवाहको उमेर २० वर्षबाट घटाउनका लागि कानुन संशोधन प्रक्रिया थालिएको जानकारी दिएका छन् । कानुन मन्त्रालयले विवाहको उमेर २० वर्ष राख्दा अपराध बढेको र बाल विवाहमा सजाय भइरहेको भन्दै कानुन संशोधन कार्य शुरु भएको मन्त्रीले जानकारी दिएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयका लागि विनियोजन गरिएको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले उक्त कुरा बताएका हुन्् । ‘विवाहको उमेर १८ बर्ष बनाउनेबारे अध्ययन भइरहेको छ । १६ वर्षमा नागरिकता पाउँछ । १८ वर्षमा भोट हाल्न पाउँछ । २० वर्षमा विवाह भन्ने कानुन छ,’ उनले भने, ‘विवाह गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइरहेको छ । बालविवाहमा सजाय भइरहेको छ ।’

कांग्रेस सचेतक पुष्पा भुसालले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्नेबारे के काम भइरहेको छ भनेर राखेको प्रश्नको जवाफमा मन्त्री शर्माले भने, ‘यो कानुनमा संशोधन गर्नुपर्छ । कानुन मन्त्रालयले संशोधनको प्रक्रिया थालिसकेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।’ प्रचलित कानुनमा विवाह गर्ने २० वर्ष छ । २० वर्ष नपुग्दै विवाह गरेमा बाल विवाहको कसुरमा सजाय गरिँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७