उपत्यकामा चार स्याटेलाइट शहर बनाउने कुरा छलफल मात्र भएको हो : मन्त्री झाँक्री


१ असार २०७९, बुधबार
Ramkumari Jhakri

काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा चार स्याटेलाइट शहर निर्माणको योजना तर्जुमा नगरिएको बताएकी छन् । उनले विगतमा स्याटेलाइट शहर निर्माण गर्ने भनेर कुरा भएको तर त्यसका लागि आवश्यक काम अगाडि नबढेको जानकारी गराएकी छन् ।

प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा शहरी विकास मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री झाँक्रीले शहर निर्माणका लागि काम गर्नुपर्ने धारणा राखिन् । ‘काठमाडौं उपत्यकामा चार वटा स्याटेलाइट सिटी बन्ने भनेको थियो कहाँ पुग्यो भन्नु भएको छ । काठमाडौं उपत्यकामा चार वटा कुनामा स्याटेलाइट सिटी बनाउने भन्ने कुरा गफ धेरै भएको थियो तर धेरै काम भएको थिएन,’ उनले भनिन्, ‘उत्तरपूर्वी सिसान शहर र त्यहाँको नयाँ भौतिक योजना मन्त्रिपरिषद्ले पास गर्ने प्रक्रियामा नै छ । त्यसैले यो कार्यक्रम नयाँ कार्यक्रमका रूपमा आएको छ । अरु तीनवटाको सम्भाव्यता अध्ययन जारी छ ।’

मन्त्री रामकुमारी झाँक्रीले आयोजना छनोटको मापदण्ड बनाइनु पर्ने बताएकी छन् । आजको प्रतिनिधिसभाको बैठकमा उनले आयोजना छान्ने स्वचालित ढंगले छान्ने परम्पराको शुरुवात गर्ने प्रस्ताव राखिन् । ‘अब आयोजना स्वचालित ढङ्गले छानिने परम्पराको शुरुवात गरौं । धेरै मान्य ज्यूहरूले योजना छनोटमा हाम्रो हात भएन भन्दै गर्दा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनलाई एकचोटी हेरौं आयोजना छान्ने अधिकार राजनीतिक व्यक्तित्वलाई नै दिइन्छ’, उनले भनिन् ।

उनले योजना छनोटको कार्यविधि बनेमा कन्ट्राक्टरले समयमा नै काम गरेन, महँगी बढ्यो भन्ने कुराको अन्त्य हुने पनि बताइन् । ‘योजना छनोटको मापदण्ड कार्यविधि बनाऔं । जसले गर्दा प्रत्येक आयोजनाहरू आयोजना बैंकमा प्रविष्ट हुन् । ती योजना आयोगको बैंकमा प्रविष्ट हुन् । स्वचालित ढंगले आयोजना छानियून’, उनले भनिन्, ‘यसो गरेमा कन्ट्राक्टरले समयमा नै काम गरेन, महँगी बढ्यो भन्ने कथाको नै अन्त्य हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७