भक्तपुरको बस्तीदेखि विद्यालयसम्म डुबानमा, नगर प्रमुख प्रजापतिले गरे अनुगमन


१ असार २०७९, बुधबार
RG Bhaktapur IMG 4216

भक्तपुर । दुई दिनदेखि भक्तपुरमा राति परेको भीषण वर्षाका कारण बस्ती, सार्वजनिकस्थल र विद्यालय डुबानमा परेका छन् । भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीमा हरेक वर्ष डुबानमा पर्ने गरे पनि यस वर्ष भने असार शुरु हुने बित्तिकै भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका हुन् ।

हुनमन्ते खोलामा आएको बाढीले वडा नं ३ र ४ का विभिन्न ठाउँमा क्षति पुर्‍याएको भक्तपुर नगरपालिकाले जानकारी दिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नगरपालिका-३ र ४ का विभिन्न ठाउँमा बाढीले क्षति पुर्‍याएका क्षेत्रको आज निरीक्षण गरेका छन् ।

बाढीले भक्तपुर नपा वडा-३ स्थित बाराही पुल र पुलसँगै रहेको शारदा स्कुल, भनपा-४ राममन्दिरस्थित शान्ति निकेतनमा बाढी पसेर क्षति पुर्‍याएको छ । नगर प्रमुख प्रजापतिले बाढी प्रभावित क्षेत्र र विद्यालयको स्थलगत निरीक्षण गरे ।

स्थानीयले खोला साँघुरो भएको, बाराही पुल नजिकको माटो हटाउनुपर्ने र विद्यार्थी तथा सर्वसाधारण जनताको आवतजावतका लागि अस्थायी बाटोको व्यवस्था गर्नुपर्ने माग नगर प्रमुख प्रजापतिलाई गरेका छन् । नगर प्रमुख प्रजापतिले बाढीका कारण परेका समस्या क्षतिकाबारेमा आफूले जानकारी पाएको भन्दै समस्या समाधान गर्न नगरपालिकाले तत्काल आवश्यक काम गर्ने बताए ।

त्यसै गरी आज राति परेको वर्षाका कारण सूर्यविनायक नगरपालिका-५ ढुङ्ग्रे खोलामा बाढी आउँदा कटुञ्जेका खोला आसपासका नयाँ बस्ती डुबानमा परेका छन् । खोला बस्तीमा पस्दा यहाँका घरभित्र पानी पसेर क्षति पुर्‍याएको छ भने सडकमै खोला बग्दा आवतजावतमा समस्या परेको स्थानीय युवराज घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७