खोडपेमा खानेपानीको चरम अभाव : दमकलबाट बाँडिंदै


२ असार २०७९, बिहीबार
khodd

बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रुपमा रहेको बैतडीस्थित पाटन नगरपालिका-८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ । गएको पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो ।

खानेपानीको आपूर्ति गर्दा आएको सिद्धेश्वर खानेपानी योजनामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको हो । लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए पनि हाल त्यस क्षेत्रको विद्युत् लाइनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको खानेपानी योजनाका सचिव मोहन बिष्टले जानकारी दिए ।

खानेपानीको हाहाकार हुँदा यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुहरुलाई समेत समस्या हुने गरेको छ । खानेपानीको समस्या भएपछि निकै समस्या भएको होटेल व्यवसायी सन्तोष राईले बताए । उनले भने, ‘खानेपानी नभएकै कारणले चार दिनदेखि होटेलको व्यापार सुस्ता छ, यसले गर्दा निकै घाटा व्यहोर्नुपरेको छ ।’

खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको पाटन नगरपालिका- ८ का वडाध्यक्ष हरिश बिष्टले बताए । उनले भने, ‘विद्युतीय समस्याका कारण खानेपानी बन्द भएको हो । कम भोल्टेजको विद्युत् प्रवाह भइरहेको हुनाले मोटरले काम गरेको छैन । विद्युत् वितरण केन्द्रलाई खबर गरेका छौँ, प्रविधिक टोली आएर मर्मत गरिरहेकाले छिट्टै समाधान हुन्छ ।’

यसैबीच खोडपेमा दमकलबाट खानेपानीको आपूर्ति गर्न थालिएको छ । पाँच दिनदेखि अवरुद्ध बनेपछि पाटन नगरपालिकाको दमकलबाट खानेपानीको आपूर्ति गरिन लागिएको हो । दमकलबाटै भए पनि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका पाटन-८ का वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए ।

उनले भने, ‘बजारमा खानेपानीको चरम अभाव भएपछि नगरपालिकाको दमकलबाट हामीले खानेपानी आपूर्ति गर्न थालेका छौँ यसले केही राहत मिलेको छ ।’ लिफ्टिङ प्रणालीबाट सञ्चालन भएको खानेपानी आयोजनामा समस्या हुँदै आएकाले खोडपेमा सधैँ खानेपानीको अभाव हुने गरेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७