परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई संसदीय समितिले बोलायो


२ असार २०७९, बिहीबार
army

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।

समितिले शुक्रबार (असार ३ गते) विहान ९ बजे छलफलका लागि बोलाएको हो । प्रधानमन्त्रीको अमेरिका भ्रमण र नेपालको परराष्ट्र नीति कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बोलाएको संसदीय समितिले जनाएको छ ।

अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा नेपाली सेनाको सहभागिता र सेनापतिको आसन्न अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले महारथी शर्मालाई बोलाएको जनाइएको छ । शुक्रबार विहान ९ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा प्रधानसेनापति शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई आमन्त्रण गरिएको सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।

‘अहिलेको परराष्ट्र नीति कार्यान्वयनको सन्दर्भमा भएका विभिन्न कुराहरु छन् । त्यसैगरी एसपीपीको कुराहरु पनि छ । प्रधानसेनापतिको विदेश भ्रमणको कुरा छ । यो के हो भनेर बुझ्नलाई हामीले बोलाएका छौं,’ उनले भनिन् ।

सभापति खरेलले सेनापतिको अमेरिका भ्रमण र एसपीपीमा सेनाको भूमिकाबारे जनआवाज उठेकाले संसदीय समिति स्पष्ट हुन खोजेको बताएकी छन् । समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेता डा. भीम रावल, पूर्व रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस सचेतक पुष्पा भुसाललगायत सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७