नयाँ प्रहरी प्रमुख आउना साथ किन हानिन्छ होटल रेष्टुरेन्टमा छापा ?


१५ चैत्र २०७४, बिहीबार
Metro Police jay bahadur chand bishwa raj pokhrel

काठमाडौं, १५ चैत । काठमाडौं परिसरमा नयाँ प्रहरी प्रमुख सरुवा भएर आउनासाथ पहिलो निशाना होटल र गेष्टहाउस हुने गरेका छन् । डेढ महिनाअघि परिसरमा सरुवा भएर आएका प्रमुख एसएसपी विश्वराज पोखरेलले पनि शनिबार र आइतबार ६४ वटा होटल तथा गेष्टहाउसमा छापा हानी ५० जनालाई पक्राउ गरेका छन् ।

Metro Police jay bahadur chand bishwa raj pokhrel
साना होटल र गेष्टहाउसमा छापा हानेर खाना खाइरहेका र सुतिरहेका जोडीलाई पक्राउ गर्ने प्रहरीले ठूला र तारे होटलहरुमा युवतीसहित जानेहरुलाई किन पक्राउ गर्दैन ? गेष्टहाउसमा जाने र स्टार होटलमा जाने मानिस नै हुन् । तर प्रहरीले गेष्टहाउसमा जाने श्रीमान श्रीमती नै भए पनि बुझ्दै नबुझी जघन्य अपराधीलाई झैं पक्राउ गर्दछ । तर स्टार होटलमा जाने युवायुवतीहरुलाई प्रहरीले पक्राउ गर्न किन सक्दैन ? ठूला होटलमा गएर यौनसम्पर्क गर्नु कानुनसम्मत हो ?

साना होटल र गेष्टहाउसमा यौनसम्पर्क गर्नु अपराध हो ? यो प्रश्न होटल ब्यवसाय गर्ने हरेकले गर्न थालेका छन् । सानालाई ऐन ठूलालाई चैन भन्ने उक्ति प्रहरीले होटल रेष्टुरेन्टमा छापा हानेको घटनाले पुष्टी गरेको छ ।
नयाँ प्रहरी प्रमुखले आउनासाथ आर्थिक लाभ लिनका छापा हान्ने गरेको आरोप छ । केही गेष्टहाउस र होटलमा छापा हानेर अरु सबै ब्यवसायीहरु तर्साउने र असुली गर्ने यो काइदा नयाँ आउने सबै हाकिमले प्रयोग गर्दैआएका छन् ।
नयाँ आएका एसएसपी पोखरेल र जान लागेका महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द दुवैले आर्थिक स्रोत जुटाउनका लागि होटल र रेष्टुरेन्टमा छापा हानेको आरोप छ । एआइजी चन्द २०७४ चैत २८ मा अवकाश हुँदैछन् । आइजीपी हुनका लागि शेरबहादुर देउवालाई ठूलो रकम बुझाएको भनेर चर्चामा आएका एआइजी चन्द त्यो उठाउनका लागि जाँदाजाँदै होटल र गेष्टहाउसबाट घुस उठाउन तल्लीन भएर लागेका छन् । १२ दिनमात्र जागिर अवधि रहेका एआइजी चन्दले सबैभन्दा बढी अपराधिक गतिविधि हुने नयाँबसपार्क, पुरानो बसपार्क र कलंकी क्षेत्रका होटलमा छापा हान्न लगाएका छैनन् । सुन्धारा र कोटेश्वर क्षेत्रमा मात्र छापा हान्न लगाएका छन् ।

सुन्धारा र कोटेश्वरका प्रहरी बृत्तका प्रमुखले एआइजी चन्दले भनेअनुसारको आर्थिक ब्यवस्थापन नगरेपछि उनीहरुको क्षेत्रमा छापा हान्न लगाएका छन् । तर नयाँबसपार्क प्रभागका इन्चार्ज प्रताप पौडेल, सिंहदरवार बृत्तका अपिल बोहरा र कलंकी प्रभागका उद्धव पोखरेल एआइजी चन्दकै निकट भएकाले ती स्थानमा छापा नहानिएको आरोप छ । एआइजी चन्दले छापा हान्नका लागि नगर प्रहरीको टोली परिचालन गरेका थिए ।

नेपालको प्रहरीले होटल र रेष्टुरेन्टमा खान जाने ग्राहकलाई गरेको दुब्र्यवहार भोगेका नेपाल सरकारका एक सहसचिव नाम उल्लेख नगर्ने सर्तमा भन्छन्–होटलमा जाने सबै ग्राहक यौनप्यास मेट्न गएको भन्दै प्रहरीले पक्राउ गर्नु नै गलत हो । खाना खाइरहेका केटाकेटीलाई पनि अपराधीलाई झैं पक्राउ गर्नु मानवअधिकारको हनन् हो । ती सहसचिवका अनुसार उनी अमेरिकाबाट आएका उनका एक साथीलाई लिएर १ बर्षअघि भक्तपुरको नम्खेलको एक रेष्टुरेन्टमा हाँसको छोइला खान गएका थिए ।

अमेरिकाबाट आएका ती साथीले आफूसँगै अध्ययन गरेकी एक महिलालाई पनि खाजा खानका लागि त्यहीँ बोलाए । अमेरिका बस्ने सहसचिवका साथी पनि विवाहित थिए, उनकी महिला साथी पनि विवाहित नै थिइन् । सहसचिवका अमेरिकी साथी होटलमा ती महिलासँग लामो समयपछि भेट भएकाले अर्को टेबुलमा कुराकानी गरिरहेकै ह्वारह्वार्ती प्रहरी आए । खाना खाइरहेका युवायुवतीलाई पक्राउ गरे ।

अमेरिकाबाट आएका ती पुरुष र महिलालाई पनि अपराधीलाई झैं प्रहरीले पक्राउ गरी भ्यानमा कोचिहाले । ती सहसचिवले यस्तो दृश्य देखेपछि प्रहरीलाई ती दुवै आफ्नो साथी हुन्, उनीहरुलाई किन पक्राउ गरेको ? उनीहरुले के अपराध गरे ? कुराकानी गर्नु अपराध हो ? भन्दा उल्टै प्रहरीले उनलाई अत्यन्त तल्लोस्तरका शब्द प्रयोग गरी …..लाई समेत भ्यानमा हालेर लैजाउँ भने । र, भ्यानमा हालेर जिल्ला प्रहरी कार्यालयमा लगिहाले ।
प्रहरीले कुरै नसुनेपछि उनी गाडी लिएर जिल्ला प्रहरी कार्यालय भक्तपुर पुगे ।

प्रहरी प्रमुख किरण राणा थिइन् । उनले प्रहरीको ज्यादति सुनाए । एसपी राणाले ‘सरले प्रहरीलाई आफू सहसचिव भएको परिचय दिनुभएको भए पक्राउ गर्दैनथे कि’ भनिन् । सहसचिवले यथार्थ भन्न खोज्दा उल्टै पक्राउ गर्ने धम्की दिएको कुरा सुनाए ।

एसपी राणाले प्रमुख जिल्ला अधिकारीलाई भन्नुपर्ने बताएपछि सहसचिवले सीडीओलाई भनेर साथीसहित ती महिलालाई छुटाएका थिए । ब्यक्तिगत गोपनीयताको हक सुरक्षित रहेको अमेरिकी समाजमा रमाएका उनका साथी नेपालको प्रहरीको यस्तो ब्यवहारबाट निकै खिन्न भए । सहसचिवका साथी र ती महिला दुवै विवाहित थिए, यदि हिरासतमा परेको भए उनीहरुको जीवन बर्बाद हुन्थ्यो । तर म सहसचिव भएका कारण बल्लबल्ल त्यो दुर्घटना हुनबाट बचाएँ । नेपालको प्रहरीले होटल र रेष्टुरेन्टमा खान जाने ग्राहकलाई पनि यौन गतिबिधि गर्न लागेको भन्दै पक्राउ गर्छ भन्ने यो एक उदाहरण हो ।
शान्तिसुरक्षा कायम गर्ने र अपराध नियन्त्रण भन्दा पनि पहिला होटल गेष्टहाउसमा गएका जोडीलाई पक्राउ गरी बहादुरी प्रदर्शन गर्ने कार्यमा प्रहरी लाग्दैआएको छ । पोखरेलले पनि पहिला होटल रेष्टुरेन्टमा खान वा बस्न गएका युवायुवतीहरुलाई पक्राउ गरी विगतकै परम्परालाई निरन्तरता दिएका छन् । ती होटल तथा रेष्टुरेन्टमा गएका जोडीलाई प्रहरीले अपराधी जसरी पक्राउ गर्नुलाई मानवअधिकारसँग पनि जोडेर हेर्ने गरिएको छ ।

काठमाडौं परिसरमा आउने नयाँ प्रमुखले सरुवा हुनासाथ होटल तथा गेष्टहाउसमा छापा हानेर तर्साउने र सेटिङ मिलाउने गरेका छन् । सेटिङ मिलेपछि ती होटल तथा गेष्टहाउसमा जे जे गर्दा पनि बेवास्ता गर्ने क्रम विगत लामो समयदेखि चल्दैआएको छ । आउनासाथ होटल रेष्टुरेन्टमा छापा हान्ने प्रहरी प्रमुख कार्यकालभरी फेरि कहिल्यै पनि त्यतातिर हेर्दैनन् । होटल रेष्टुरेन्टमा छापा हानिएकोबारेमा बिहीबार काठमाडौं प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापासँग प्रतिक्रिया लिन खोज्दा उनले मोवाइल रिसिभ नै गरेनन् ।
होटल तथा गेष्टहाउसमा अपराधिक गतिबिधि हुने गुनासोको आधारमा छापा हान्ने अभियान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले पत्रकार सम्मेलनमा बताएका थिए । तर अपराधिक गतिबिधि बढी हुने नयाँबसपार्क र कलंकीमा छापा हानिएको छैन ।
महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले अपराधिक क्रियाकलाप हुनसक्ने शंकास्पद होटल र गेष्टहाउसमा छापा हानिएको प्रतिक्रिया दिएका छन् । यौन गतिविधि साना होटलमा मात्र होइन, ठूला होटलमा पनि हुन्छन्, ठूला तारे होटलमा प्रहरीले किन छापा हान्दैन भन्ने प्रश्नमा उनले भने–‘क्रिमिनल एक्टिभिटी हुने ठाउँमा प्रहरी कारबाही हुँदा ब्यक्तिगत गोपनीयताको कुरा भन्न मिल्दैन ।’ तर एआइजी चन्दले के क्रिमिनल एक्टिभिटी भए भन्ने खुलाउन चाहेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७