परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मा संसदीय समितिमा उपस्थित


३ असार २०७९, शुक्रबार
ARmy Chief FM FSMKIeXSJ4

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी भएका छन् । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न संसदीय समितिले परराष्ट्रमन्त्री खड्का र प्रधानसेनापति शर्मालाई आमन्त्रण गरेपछि उनीहरु उपस्थित भएका हुन् ।

एसपीपीमा नेपाली सेनाको सहभागिता र सेनापतिको आसन्न अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले महारथी शर्मालाई बोलाएको हो । समितिकी सभापति पवित्रा निरौला खरेलले सेनापतिको अमेरिका भ्रमण र एसपीपीमा सेनाको भूमिकाबारे जनआवाज उठेकाले संसदीय समिति स्पष्ट हुन खोजेको बताइन् । शुक्रबार बिहान ९ बजेपछि सिंहदरबारमा छलफल चलिरहेको छ । बैठकमा पूर्वरक्षामन्त्री ईश्वर पोखरेल र भीम रावल सहभागी छन् ।

नेपाली सेनाले एसपीपीसम्बन्धी सार्वजनिक पत्रको सान्दर्भिकता अहिले नभएको बताइसकेको छ । सन् २०१५ को अक्टोबर २७ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई स्टेट नेसनल गार्डसँग सहकार्यका लागि अनुरोध गर्दै लेखेको पत्र सार्वजनिक भएको थियो । त्यसपछि पत्रको आधिकारिकताबारे प्रश्न उठिरहेको छ । यसमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पत्र आधिकारिक नै भएको पुष्टि गरेको हो ।

सेनाका अनुसार नेपालमा विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षतिमा छिमेकी तथा विभिन्न मित्र राष्ट्रले उद्धारमा सहायता गरेको र त्यसको व्यवस्थापन नेपाली सेनाले गरेको थियो । जंगी अड्डाले फेरि झन् ठूलो भूकम्प जाने सम्भावना भनेपछि सन् २०१५ मा आधुनिक उद्धार प्रविधि र अनुभव साटासाटका लागि विभिन्न देशलाई अनुरोध गर्ने क्रममा अमेरिकालाई अनुरोध गरिएको र अहिले त्यसको सान्दर्भिकता नरहेको जनाएको छ । यसबारे यथार्थ विवरण लिन समितिमा बोलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७