नेपाललाई विश्व बैंकको १७ अर्ब ३६ करोड सहयोग


३ असार २०७९, शुक्रबार
1570955497worldbank1

काठमाडौँ । विश्व बैंकले नेपालमा ब्रोडब्याण्ड सेवा पहुँच विस्तार गर्न १७ अर्ब ३६ करोड रुपैयाँ बराबर (१४० मिलियन डलर) सहयोग रकम स्वीकृत गरेको छ । विश्व बैंक कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्स्सेलेरेसन (डीएनए) परियोजनाका लागि यस्तो सहयोग रकम स्वीकृत गरेको हो ।

सहुलियत दरमा ब्रोडब्याण्ड सेवा विस्तार गर्ने खासगरी ग्रामीण क्षेत्र र व्यवसायलाई डिजिटलमा रुपान्तरण गर्ने उद्देश्यले यस्तो सहयोग प्रदान हुन लागेको हो । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने नेपालको लक्ष्यलाई विश्व बैंकले समर्थन गरेको र यो सहयोगले व्यवसायलाई सूचना, सेवा र बजारमा जोड्ने विश्वास व्यक्त गरेका छन् ।

यो परियोजनाले डिजिटल नेपाल फ्रेमवर्क, २०१९ मा सरकारले घोषणा गरेको देशको डिजिटल अर्थतन्त्र रणनीतिको कार्यान्वयनमा सहयोग पुग्ने बताइएको छ । परियोजनाले उच्च गुणस्तरीय र किफायती ब्रोडब्यान्ड सेवाहरूमा सुधार गर्न मद्दत पुग्नेछ । यसले नेपालको डाटा पूर्वाधार र साइबर सुरक्षामा सुधारमार्फत डिजिटल सरकारी सेवाहरूको डेलिभरीलाई समर्थन र सुरक्षित गर्ने बताइएको छ ।

‘इन्टरनेट प्रयोगमार्फत डिजिटल सीप र उद्यमशीलता विकास, महिला, अपाङ्ग, जातीय र सामाजिक अल्पसंख्यक व्यक्तिलाई डिजिटल सेवाहरूमा पहुँच बढाउनुका साथै परियोजनाले डिजिटल सीप विकास तालिम प्रदान गरी करिब १,५०० व्यक्तिलाई राम्रो रोजगारीका अवसर सिर्जना गर्नेछ’ विश्व बैंकले भनेको छ । डीएनए परियोजना विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) द्वारा वित्तीय सहयोग प्राप्त हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७