पूर्वाधार निर्माण पछि उज्यालिँदै ज्यामरुककोट


४ असार २०७९, शनिबार
jakme

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका- २ मा पर्ने करीब छ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोतमा पूर्वाधार निर्माण हुन थालेपछि त्यहाँस्थित खड्गभवानी परिसर सवैको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ ।

त्यहाँ विगत दुई वर्षयता धमाधम विकासका पूर्वाधार निर्माण भइरहेका छन् । उक्त नगरपालिका, गण्डकी प्रदेश सरकार र खड्ग भवानी कोत व्यवस्थापन समितिको संयुक्त पहलमा पदमार्ग, प्रवेशद्वार, घेराबार, विभिन्न देवीदेवताका मन्दिर, टेलिकमको फोर जी टावरलगायत पूर्वाधार निर्माण भएपछि पहिला-पहिला सुनसान देखिने यो स्थलले सबैलाई आकर्षण गर्न सफल भएको हो ।

भकुण्डेदेखि खड्गभवानी कोत जोड्ने पक्की सिँढीसहितको २५० मिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग वन, वातावरण तथा पर्यटन मन्त्रालय र नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३५३ वटा सिँढीसहितको पदमार्ग निर्माण भएपछि ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल खड्ग भवानी कोत पुग्न सहज भएको छ ।

आव २०७५/७६ मा भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट प्राप्त रु १४ लाख ९९ हजार ४८६ र उपभोक्ताको रु तीन लाख २१ हजार बराबरको श्रमदानमा उक्त पदमार्ग निर्माण गरिएको बेनी वडा नं-२ का वडाध्यक्ष हीराबहादुर थापाले बताए ।
पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले दुई मिटर फराकिलो पदमार्गको १९० मिटर दूरीमा फलामको रेलिङ राखिएको बताउनुभयो । पदमार्ग निर्माण भएपछि उकालो बाटोमा सहज र सुरक्षितरुपमा हिँडडुल गर्न सकिनाका साथै पर्यटकको समेत आवागमन बढ्ने स्थानीय हरि घिमिरेले अपेक्षा गरे ।

त्यसैगरी कन्थराज थानदेखि खड्गभवानी कोतसम्म जाने २४० मिटर पदमार्ग पनि निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक लगानीमा सो पदमार्ग निर्माण भएपछि अब दुुईतिरबाट नै खड्गवानी कोतमा पुग्न सजिलो भएको खड्गभवानी गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।

कोत परिसरबाट धौलागिरि, नीलगिरि, अन्नपूणर्, माछापुच्छे्र, गुर्जा, चुरेनलगायत १५ वटाभन्दा बढी हिमाल, धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण जनजीवन, धार्मिकस्थल गलेश्वर, पञ्चकोट, म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेलीसहित प्राकृतिक सम्पदाको दृष्यावलोकन गर्न सकिन्छ ।
खड्ग भवानी कोतस्थललाई राजधानी बनाइ विसं १२४६ देखि १५४५ सम्म थापा र त्यसपछि मल्ल राजाले ज्यामरुककोटमा राज्य गरेका थिए । उक्त कोतमा ५७४ वर्ष पुराना अभिलेख, हतियार र पुरातात्विक महत्वका सामग्री छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७