सर्लाही जिसस प्रमुखमा कौशलकिशोर, पाल्पामा एमालेको प्यानलै विजयी

सर्लाही । जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीतेन्द्र महतो निर्विरोध निर्वाचित भएका छन् ।
उम्मेदवारको मनोनयनपत्र दर्ताको लागि छुट्याइएको समयभित्र कांग्रेस-माओवादी गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिंहको तथा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार महतोको मात्रै उम्मेदवारी परेपछि दुवै जना निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए ।
सदस्यमा कांग्रेसबाट हरिपुर नगरपालिका-५, का अलाउदिन मियाँ, हरिपूर्वा नगरपालिका-५, की रामशिलाकुमारी यादव, चक्रट्टा गाउँपालिका-४, की रेखादेवी साह, लालबन्दी नगरपालिका-१७, का रामबहादुर बोम्जन, ईश्वरपुर नगरपालिका-१५, की पासवतीदेवी थरुनी र गोडैता नगरपालिका-६, की सोनावती देवी चयन भएकी छन् । त्यसैगरी, माओवादी केन्द्रबाट लालबन्दी नगरपालिका-१५, का हेम कार्की सदस्यमा चयन भएका छन् ।
पाल्पा जिसस प्रमुखमा एमाले
जिल्ला समन्वय समिति पाल्पाको प्रमुख, उपप्रमुखसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा टङ्कनाथ खनाल निर्वाचित भएका छन् भने उपप्रमुखमा काशिका गैरे निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा वसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएका छन् ।