माइतमा आफन्तको जन्मदिन मनाउन हिंडेकी महिला पोखरीमा मृत भेटिइन्


४ असार २०७९, शनिबार
death

मोरङ । माइत जान भनेर घरबाट निस्किएकी एक वृद्धा मोरङको जहदास्थित एक पोखरीमा मृत भेटिएकी छन् । जहदा गाउँपालिका-४ मुखिया टोलकी ६५ वर्षीया नीरबुधियादेवी मुखियाको शव पोखरीमा डुबेको अवस्थामा शनिबार बिहान फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वृद्धा शुक्रबार साँझ ७ बजेतिर जहदा-४ सोहलस्थित माइती जानलाई भनेर घरबाट हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । माइतीमा आफन्तको जन्मदिन मनाउन भनेर हिंडेकी उनको शव शनिबार बिहान ७ः३० बजेतिर जहदा-४ स्थित बटेश्वर मुखियाको जग्गामा रहेको पोखरीमा भेटिएको डीएसपी श्रेष्ठले बताए । उक्त पोखरी निक्कै गहिरो रहेको स्थानीयले बताएका छन् ।

बाटोको साइडमा रहेको पोखरीको पानीभित्र घोप्टो परेको अवस्थामा वृद्धा महिलाको शव भेटिएको डीएसपी श्रेष्ठले बताए । माइती पक्ष सम्पर्कमा नआएका कारण उनी माइती घर पुगिन् कि पुगिनन् भन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७