इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

चितवन । चितवनको माडीमा इनार सफा गर्ने क्रममा आज (शनिबार) दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-८ का २५ वर्षीय सूर्य गुरूङ र ३० वर्षीय शिव राई रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरू दुई जनाले माडी-७ देवेन्द्रपुरको रिता रेग्मीका घरको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो साढे ४ बजे उक्त घटना भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।
शुरूमा सूर्य गुरूङ इनार सफा गर्न भित्र गएका थिए । इनार भित्र गएको केही समयपछि नै गुरूङले बोल्न नसकेर हातले इशारा गरेपछि शिव राई कम्मरमा डोरी बाँधेर उद्धारका लागि झरेका थिए । तर डोरी चुँडेर राई पनि तल खसेको डिएसपी अधिकारीले बताए ।
घटना थाहा पाएर उद्धारका लागि पुगेको प्रहरी टोली पनि डोरी बाँधेर इनारमा गएका थिए । त्यसो गर्दा प्रहरीलाई पनि अक्सिजन अपुग भएर श्वास फेर्न समस्या भएको थियो । बघौडा अस्पतालबाट अक्सिजन सिलिन्डर ल्याएर ईनारमा पसेको प्रहरीले दुई वटै शव बाहिर निकालेको डिएसपी अधिकारीले जानकारी दिए ।