अर्थमन्त्री डा. खतिवडाको मन्त्रालय पनि राजश्व लक्ष्य भेट्न असफल


१६ चैत्र २०७४, शुक्रबार
Aartma mantralaya

काठमाडौं, १६ चैत : चालु आर्थिक वर्षको ८ महिना पूरा हुँदा पनि अर्थ मन्त्रालयले राजश्वको लक्ष्य भेट्टाउन असफल भएको छ । फागुन मसान्तसम्ममा ४ खर्ब ३९ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेको भए पनि ४ खर्ब ३२ अर्ब रुपैयाँ मात्रै राजश्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व बढाउन भन्सार र आन्तरिक राजश्व विभागलाई निर्देशन दिए पनि राजश्व लक्ष्य भेट्न सकेन ।Aartma mantralaya

चालु वर्षको बजेटमार्फत अर्थ मन्त्रालयले फागुन अन्त्यसम्ममा ४ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ कर राजश्व संकलनको लक्ष्य राखेकोमा त्यसको ९२.८ प्रतिशत अर्थात ३ खर्ब ८७ अर्ब ३ करोड रुपैयाँ संकलन भएको हो । गैरकर राजश्वतर्फ भने ३१ अर्ब २८ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य भए पनि ४५ अर्ब ७० करोड अर्थात १४६.०९ प्रतिशत प्रगति हासिल भएको छ ।

गैरकर राजश्व बाहेक कर राजश्व लक्ष्यअनुसार संकलन नभएका कारण अपेक्षित राजश्व संकलन हुन नसकेको हो । फागुन मसान्तसम्ममा ८६ अर्ब ५१ करोड रुपैयाँ भन्सार राजश्व संकलनको लक्ष्य भए पनि त्यसको ९७.२० प्रतिशत अर्थात ८४ अर्ब १८ करोड रुपैयाँ असुली भएको छ । ८ महिनामा १ खर्ब २६ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) असुली भएको छ । यो अवधिमा १ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ भ्याट असुलीको लक्ष्य राखिएको थियो । संकलित मूल्य अभिवृद्धि कर रकम लक्ष्यको तुलनामा ९६.३० प्रतिशत हो । आन्तरिकतर्फ भ्याट असुली २४.५ प्रतिशतले बढेको छ भने अन्तर्राष्ट्रियतर्फ २.६ प्रतिशतले ऋणात्मक देखिएको छ ।

अहिलेसम्म ९२ प्रतिशत मात्रै भ्याट संकलन भएको छ । लक्ष्यअनुसार भ्याट संकलन नहुँदा त्यसको दबाब समग्र राजश्व प्रणालीमा नै परेको छ । सचिव शिशिरकुमार ढुङ्गानाले लक्ष्य निर्धारण गर्दा नै राम्रोसँग हिसाब हुन नसकेका कारण भ्याट संकलन कम देखिएको बताए । ‘गत वर्षभन्दा २३.७९ प्रतिशतले भ्याट असुली बढेको छ, लक्ष्य निर्धारणमा ध्यान पुग्न नसक्दा असुली कम भएको देखिन्छ,’ उनले भने । आयकर पनि लक्ष्यभन्दा पाँच अर्ब रुपैयाँ कम असुली भएको छ ।

फागुन अन्त्यसम्ममा ९० अर्ब ७५ करोड रुपैयाँ आयकर संकलनको लक्ष्य निर्धारण भएकोमा ८५ अर्ब ७७ करोड अर्थात ९४.५२ प्रतिशत मात्रै संकलन भएको छ । चालु आर्थिक वर्ष सकिन अब करिब साढे तीन महिना बाँकी छ । अहिले सरकारले लक्ष्यभन्दा करीब ६ अर्ब रुपैयाँ कम राजश्व संकलन गरेको छ । बाँकी अवधिमा राजश्व संकलन बढ्ने र लक्ष्य हासिल हुने ढुङ्गानाले बताए । ‘अहिले जम्मा ६ अर्बले पछाडि परेको हो,’ उनले भने, ‘असारमा राजश्व संकलन बढ्छ । त्यसले लक्ष्य पूरा गर्न सकिन्छ ।’ उनको निर्देशनपछि भन्सारमा सन्दर्भ मूल्य र आन्तरिक राजश्व विभागले बजार अनुगमन बढाएको छ । विभागले मदिरामा अन्तशुल्कको नक्कली स्टिकर लगाउने मदिरा उद्योगलाई कार्वाही गरिरहेको छ । अर्थ मन्त्रालयले भन्सारका साथै आन्तरिक राजश्व कार्यालयहरुलाई लक्ष्य पूरा गर्न दबाब दिइरहेको छ । अहिले भन्सारबाट दैनिक औसतमा एक अर्ब रुपैयाँभन्दा धेरै राजश्व संकलन गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७