काठमाडौं महानगरपालिकालाई सडक बत्तीको १ अर्ब १३ करोड ऋण


१६ चैत्र २०७४, शुक्रबार

काठमाडाैं, १६ चैत : नेपाल विद्युत प्राधिकरणले बक्यौता महसुल करीब पाँच अर्ब रुपैयाँ पुगेको र त्यसमध्ये काठमाडौं महानगरपालिकाले सडक बत्तीको बाँकी मात्रै करीब १ अर्ब १३ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताएको छ ।ktm

महसुल नतिर्ने ठूला ग्राहकहरूमध्ये स्थानीय तहहरू प्रमुख रहेको बताउँदै उसले वर्षौँयता उठ्न नसकेका महसुल उठाउन ताकेता गरिएको जनाएको छ । तर काठमाडौं महानगरपालिकाले भने उक्त दाबी सहि नभएको बताएको छ । प्राधिकरणले विद्युत महसुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राख्ने र कतिपयको विद्युत सेवा नै काटिदिने गरेको छ ।

सबैभन्दा धेरै बक्यौता महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरुको रहेको प्राधिकरणको भनाइ छ । स्थानीय तहको निर्वाचनपछि पनि उनीहरूबाट रकम असुल गर्न कठिन भइरहेको उसको भनाइ छ । नगरपालिकाहरूले तिर्नु पर्ने सडक बत्तीको महसुलका अतिरिक्त सुरक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरकारी निकायहरूले पनि वर्षौँदेखि विद्युत महसुल नतिरेको प्राधिकरणको भनाइ छ । स्थानीय तहबाट असुल गर्नुपर्ने महसुलबारे प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका एक अधिकारी राजन बिष्टले भने, ‘’सबैभन्दा धेरै रकम सडक बत्तीको छ । बाँकी रकम असुल गर्नका लागि हामीले पहल गरिराखेका छौं ।

मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्षलाई तिर्नुपर्ने रकमको विवरण पठाएका छौं ।’ विद्युत महसुल नतिर्ने ग्राहकहरुमा सिंहदरबार परिसरभित्रै रहेका विभिन्न मन्त्रालयहरु समेत छन् । त्यसका अतिरिक्त दुग्ध चिस्यान केन्द्रबाट २ करोड, शीत भण्डारबाट १६ करोड, जुट मिलबाट १३ करोड तथा महसुल नियमित नतिर्ने ग्राहकहरूबाट ५७ करोड रुपैयाँ उठ्न बाँकी रहेको बताइएको छ । देशको राजधानीमा रहेको सबैभन्दा ठूलो महानगरपालिकाबाट सडक बत्तीको महसुल बापत एक अर्ब रुपैयाँभन्दा बढी असुल गर्न बाँकी रहेको बताइए पनि उक्त निकायका सहप्रवक्ता नमराज ढकाल त्यसलाई अस्विकार गरेका छन् । कतिपय चुहावटको पनि सडक बत्तीको नाममा नगरपालिकामा बिल पठाईरहेको कुरा आएको छ । हामीले त्यस्ता तथ्यको पनि अध्ययन गरिरहेका छौं ।

उनले भने, ‘’हामीले त्यत्रो रकम तिर्नुपर्ने छैन भनेर भनिरहेका छौं । कतिपय स्थानमा सडक बत्ती नभएको ठाउँको पनि प्राधिकरणले बिल बनाइरहनु भएको छ ।’ ‘कतिपय चुहावटको पनि सडक बत्तीको नाममा नगरपालिकामा बिल पठाईरहेको कुरा आएको छ । हामीले त्यस्ता तथ्यको पनि अध्ययन गरिरहेका छौं । त्यसलाई हामीले प्रमाणीकरण गर्न सक्दैनौ ।’ सरकारी निकायवाट उठ्न नसकेको रकम असुल गर्न विगतमा सरकारले बनाएका नियम कार्यान्वयन हुन नसकेको प्राधिकरणले जनाएको छ । स्थानिय तह लगायतका सरकारी निकायवाट असुल गर्नुपर्ने रकम मध्ये ५८ प्रतिशत रकमको विस्तृत विवरण आए पनि बाँकी बक्यौता कसरी असुल गर्ने भन्नेबारेमा प्राधिकरण स्वयम् अन्योलग्रस्त देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७