डीआईजी बढुवा ढिलाइले प्रहरीमा अस्वास्थ्य प्रतिस्पर्धा र चलखेल


६ असार २०७९, सोमबार
Nepal Police DIG scaled

काठमाडौं : नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा ढिलाईले अस्वास्थ्य प्रतिस्पर्धा बढेको छ । ९ जेठ २०७९ मा पाँच डीआईजी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएसँगै १७ डीआईजी पद रिक्त छ ।

डीआईजीको दरबन्दी रहेको प्रहरी मुख्यालयका विभाग, ब्युरो र मातहतका कार्यालयहरु प्रमुख विहिन भएको लामो समयसँग बित्तिसक्दा पनि बढुवा प्रक्रिया बढेको छैन । सरकारले बढुवामा ढिलाइ गर्दा प्रतिस्पर्धीहरु तिव्र दौडधुप र चलखेलमा लागेका छन् ।

९ जेठ २०७९ मा सरकारले डीआईजीहरु उत्तमराज सुवेदी, अरुण कुमार बि.सी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको थियो । यो लगत्तै नेपाल प्रहरीमा रिक्त १७ जना डीआईजीमा बढुवाको प्रक्रिया अघि बढाउनु पर्ने थियो । तर यो प्रक्रिया अझै अघि बढेको छैन ।

किन भयो ढिलाइ ?
बढुवामा वरीयताक्रम, कार्यकुशलता, व्यावसायिक क्षमता आधारमा हेर्नुपर्ने हुन्छ । तर पछिल्लो समयमा प्रहरी बढुवामा हस्तक्षेप र तिव्र आर्थिक चलखेल भएको भन्दै आलोचना सुरु भएको छ । यही कारण बढुवा ढिलाइ भएको गृहमन्त्रालयकै एक उच्च अधिकारीको दाबी छ । बढुवामा ढिलाइ हुँदा ‘मोलमोलाई’ बढेको ती अधिकारीको दाबी छ । उनी भन्छन्, ‘त्यही सजिलो र सुविधाको लागि ढिलाइ गरिएको हो भन्न पनि सकिन्छ ।’

‘१७ जना डीआईजीमा बढुवा रोकिनु पर्ने कुनै प्रक्रियागत कारण छैन,’ ती अधिकारीले भने, ‘गृहमन्त्रालय र बालुवाटारको सूचीको तालमेल र समन्वय समस्याले ढिलाइ भइरहेको जस्तो देखिन्छ ।’ ‘तालमेल र समन्वय समस्या’ अर्थात् गृहमन्त्री बालकृष्ण खाँड र बालुवाटारवीच रुची बाझिएको कारण बढुवामा ढिलाइ भएको हो । स्रोतका अनुसार एक नम्बर डीआईजी कसलाई बनाउने भन्नेमा बालुवाटार र गृहमन्त्री खाणबीच अझैं कुरा मिलेको छैन ।

१७ जना डीआईजीका लागि दुई ब्याचका ३७ जना एसएसपीहरु प्रतिस्पर्धामा छन् । २०७५ माघ २६, २०७७ वैशाख ९ र २०७७ पुस २९ मा एसएसपी भएकाहरु प्रतिस्पर्धामा उत्रिएका छन् । बढुवा ढिलाइको प्रमुख कारण दाबेदार एसएसपीहरुको चर्को ‘अस्वास्थ्य प्रतिस्पर्धा’ नै हो । एक नम्बरमा बढुवा हुने भोलीको सम्भावित प्रमुख हो । त्यस कारण पनि तिनै ब्याजका एसएसपीले चर्को दबाब बढाइएका छन् । एक एआईजीका भाषामा यी तिनै ब्याजका एसएसपीहरु ‘ज्यान फालेर’ दौडिरहेका छन् ।

उनीहरुले राजनीतिक दबाब र आर्थिक चलखेल दुबै बढाएका छन् । स्रोतका अनुसार एक नम्बर हुनलाई एसएसपीहरु रामदत्त जोशी, उमेशराज जोशी, वशन्तबहादुर कुँवर, सन्दीप भण्डारी, दिपक थापा र अशोक सिंह चर्को दौडधुपमा छन् ।
पछिल्लो समयमा रामदत्त जोशी र उमेशराज जोशीले धेरै दबाब बढाएको स्रोतको दाबी छ ।

सुदूरपश्चिमको भौगोलिक सम्बन्धको कारण उनीहरुको सम्भावना बढी रहेको बताइन्छ । ‘अहिले राज्यको हरेक निकायमा नियुक्तीको पहिलो योग्यता सुदूरपश्चिमको हुनुपर्छ । त्यो योग्यता उहाँहरुसँग छ,’ गृह मन्त्रालय स्रोत भन्छ, ‘यता (गृह)को प्रस्ताव भन्दा उतै (बालुवाटार)को दबाब हाबी होला जस्तो देख्छु ।’

प्रहरीको सरुवा र बढुवामा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु, भाई भूषण राणा र प्रधानमन्त्रीको स्वकीय सचिव भानु देउवा हाबी हुने गरेको तथ्य ‘ओपेन सेक्रेट’ जस्तै छ । स्रोतका अनुसार प्रधानमन्त्री पत्नी आरजु देउवा भारत भ्रमणमा गएकाले पनि प्रहरी बढुवा प्रभावित भएको हो । आरजु भाई भूषण तथा पिए प्रकाश देउवा र केही सहयोगी समेत लिएर उनी भारत गएकी थिइन् ।

तीन ब्याचका ३७ एसएसपीहरुको चर्को दौडधुप

१७ जना डीआईजीका लागि दुई ब्याचका ३७ जना एसएसपीहरु प्रतिस्पर्धामा छन् । २०७५ माघ २६, २०७७ वैशाख ९ र २०७७ पुस २९ मा एसएसपी भएकाहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।

बढुवाको दौडमा रहेका अघिल्लो टोलीका १३ एसएसपी बढुवाका प्रमुख दाबेदार छन् । २६ माघ २०७५ मा बढुवा भएका १४ मध्ये डा. गणेश रेग्मीले अवकाश पाइसकेका छन् । यी मध्ये वरिष्ठताक्रम अनुसार बढुवा गरिए १३ एसएसपी स्वत डिआइजी बन्नेछन् ।

यी १३ मध्ये पहिलो नम्बरमा सन्दीप भण्डारी, दोस्रो नम्बरमा टेकप्रसाद राई, तेश्रो नम्बरमा उमेशराज जोशी छन् । यसैगरी क्रमस: श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुवँर र भीम ढकाल रहेका छन् ।

यी मध्ये सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल र वसन्तबहादुर कुवँर ५ चैत २०५१ म प्रहरी निरिक्षकमा भर्ना भएका हुन् । तीन एसएसपीहरु दीपक थापा, टेकबहादुर तामाङ र भीमप्रसाद ढकाल पछिल्लो ब्याज अर्थात् २०५२ भदौ ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।

वरियताक्रम नमिचिए ५ चैत २०५१ मा प्रहरी निरिक्षकमा भर्ना भएका १० जनाको टोली स्वत: बढुवा हुनेछन् । अघिल्लो ब्याजको १० मध्ये सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी र उमेशराज जोशीले डीआईजीमा बढुवाका लागि तिव्र दौडधुप बढाएका छन् ।

प्रदेश नम्बर एकका सभामुख प्रदीपकुमार भण्डारीका सहोदर भाई हुन्, सन्दीप । एसपीदेखि एसएसपी बढुवामा दाजुको निर्णायक सहयोगबाट एक नम्बरमा बढुवा भएका थिए । यस पटक पनि एक नम्बर हुनलाई उनले सुविसुका सुवास पाठक लगायत मार्फत चर्को दौडधुप बढाएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला रुपन्देहीतिर घर भएका श्यामलाल ज्ञवाली गृहमन्त्री खाँणको आर्षिवाद पाउनेमा ढुक्क छन् । रामदत्त र उमेशराज जोशी भने सुदूरपश्चिमको भौगोलिक सम्बन्ध नै बढुवाको आधार हुनेमा ढुक्क रहेको स्रोतको भनाई छ ।

प्रहरीमा इमानदार र व्यावसायिक छवि बनाएका दोस्रो नम्बरका एसएसपी टेकप्रसाद राई भने कार्यसम्पादन मूल्याङ्गकन र वरियताक्रमको आधारमा आफू पर्ने भन्दै ढुक्क बसेको स्रोतको भनाई छ ।

दोस्रो ब्याज अर्थात् २०५२ भदौ ११ मा भर्ना भएका तीन मध्ये एसएसपी दीपक थापाले एक नम्बर बढुवा हुने गरी तिव्र दौडधुप बढाएका छन् । उनी सबैभन्दा चलाख र शक्ति केन्द्रको दौडधुपमा पारङ्गगत एसएसपी मानिन्छन् ।

दोस्रो ब्याजको दौडधुप
९ वैशाख २०७७ गते एसएसपी बढुवा भएकाहरू पनि तिव्र दौडधुपमा छन् । यो ब्याजमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, ह्रृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुवेर खापुङ रहेका छन् ।

१९ मध्ये वीरेन्द्र कुमार बस्याल अनिवार्य अवकाशमा गएका छन् भने नवराज भट्ट, हृदय थापा, राजकुमार बैदवार र मुकेश कुमार सिंह पनि एसएसपीबाटै अवकाश गएका छन् ।

९ वैशाख २०७७ मा बढुवा भएकाहरु १९ मध्ये १४ जना प्रतिस्पर्धामा छन् । एसएसपीहरु जनक भट्टराई, विष्णुकुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोख्रेल र चन्द्रकुवेर खापुङ दौडधुपमा छन् ।

डेढ वर्ष जुनियरको एक नम्बर बन्ने दाउ
१४ एसएसपी मध्ये पनि अशोक सिंह चर्को दौडमा छन् । तर उनीमाथि कारबाही सिफारिस भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख भएको बेला सिंहले २ करोड २९ लाख रुपैयाँ रकम भरेको चेक नियन्त्रणमा लिएर कारबाही नगरी फिर्ता गरेको घटनामा सिंहमाथि कारबाही गर्न सिफारिस भएको हो ।

तीन महिनासम्म उक्त चेक आफ्नो नियन्त्रणमा राखेर कारबाही नै नगरी सम्बन्धित व्यक्तिलाई फिर्ता दिएको घटना बाहिरिएपछि छानबिन गर्न प्रहरी हेडक्वार्टरले डीआईजी राजेशलाल कर्णको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा कर्णसँगै एसपी आभूषण तिम्सिना र डीएसपी सन्तोष तामाङ थिए ।

तीन महिनासम्म चेक नियन्त्रणमा राख्नु र विनाकारबाही चेक फिर्ता गर्नु प्रहरी आचरण विपरितको काम भएको भन्दै कर्ण संयोजकत्वको टोलीले सिंहलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।

हराएको ७ थान चेकमा विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन खोजिएको भन्दै सिन्धुलीका राजकुमार बरालले गृह मन्त्रालयमा पुस ९ गते उजुरी दर्ता गराएका थिए । तर कारबाहीकोबीच पनि उनले बढुवाको लागि तिव्र चलखेल गरीरहेको स्रोतको दाबी छ ।

तेश्रो लटका एसएसपीहरु प्नि दौडधुपमा
त्यसो त बढुवाको लागि तेश्रो लटका एसएसपीहरु समेत दौडधुपमा छन् । २०७७ पुस २९ गते ११ जना एसएसपी बढुवा भएका थिए । यो लटमा कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइटेल र मोहनप्रसाद पोखरेल बढुवा भएका थिए ।

यी मध्ये एसएसपी गोविन्दकुमार साहले राजीनामा दिइसकेका छन् । बाँकी रहेका १० एसएसपीहरू अहिले नै डीआईजी बन्ने दौडमा छन् । उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, विकासराज खनाल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहनप्रसाद पोखरेललगायत पनि बढुवामा छिर्ने प्रयासमा छन् ।

भावी नेतृत्वकर्ता

३० वर्षे सेवा अवधि कायमै रहे वर्तमान प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंह अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् । यसपछि यही १७ मध्ये एक डीआईजीले नेतृत्व सम्हाल्नेछन् । ०७९ चैत ११ देखि ०८१ चैत ५ सम्म तीन वर्षका लागि यो व्याचबाट एकजना आइजी हुन्छन् ।

त्यसपछि ५ महिना १० दिन, अर्थात् १ सय ६० दिनका लागि यी मध्येबाट एकजना आइजी हुन्छन् । यो टोलीले ०८२ भदौ १८ मा अवधी पूरा गरेपछि अर्को टोली आउँछ, राजेशनाथ बास्तोला, लालमणि आचार्यमध्येबाट । यो टोलीले ६९ दिन आइजीपी चलाएपछि ७० औँ दिनबाट एक वर्षका लागि राष्ट्रिय अनुसन्धान विभागबाट सेवा प्रवेश गर्ने टोलीले प्रहरीको आइजिपी, एआइजी र थुप्रै डिआइजी चलाउने छन् ।

०८३ पुस ५ गतेसम्मका लागि सिद्धीविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालकुमार श्रेष्ठ, विमल बस्नेतमध्येबाट आइजी हुन्छन् ।

यी सबै राअबाट आएका हुन् । त्यसपछि ०८४ चैत १८ सम्मका लागि दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेलमध्येबाट आइजी हुन्छन् । र, फेरि २ सय २८ दिन, अर्थात् ०८५ मंसिर १६ सम्मका लागि राअबाटै सेवा परिवर्तन गरेका श्यामकृष्ण अधिकारीले आइजी चलाउँछन् ।

त्यसपछि सानुराम भट्टराई भएमा ०८६ मंसिर १४ सम्म, ओमप्रसाद अधिकारी, भूपेन्द्र खत्री, आभूषण तिम्सिना, गंगा पन्त, मुकुन्द मरासिनीमध्येबाट भएमा सात महिनाका लागि, अर्थात् ०८६ असार ३ गतेसम्म आइजी हुन्छन् । त्यसपछि आजसम्मको वरियता हेर्दा रमेश थापाहरूको पालो आउनेछ । याे समूह ०८८ साउन १८ सम्म हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७