बन्द घोषणा गरिएको हवाई सेवा भोलि दिउँसो ११ बजेबाट सुचारु हुने


८ असार २०७९, बुधबार
AirlineOperatorsAssociation

काठमाडौं : बुधबारदेखि अनिश्चितकालीन बन्द हुने भनिएको आन्तरिक उडानहरु यथावत् हुने भएका छन्।

मंगलबार वायु सेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै वायुसेवा सञ्चालकहरुले उद्धार र नियमित उडानहरू बन्द गर्ने निर्णय गरेका थिए ।

लगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको हवाई सेवाजस्तो संवेदनशील र अत्यावश्यक सेवालाई हठात रूपमा स्थगित गरिएको घोषणा गर्नुले वायुसेवा सञ्चालक संस्थाको व्यवासायिक मर्यादाविपरीत र अत्यन्त गैरजिम्मेवारीपूर्ण कार्य भन्दै कारबाहीको चेतावनी दिएको थियो ।

यो दोहोरो चेतावनीपछि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघका पदाधिकारीबीच प्राधिकरण कार्यालयमा मंगलबार मध्यरात वार्ता भएको थियो ।

यो वार्तापछि वायुसेवा सञ्चालकहरू बुधबार दिउँसो ११ बजेबाट नियमित उडान गर्न सहमत भएका छन् । संघका प्रवक्ता योगराज कँडेलले वार्ता जारी राख्ने अहिलेलाई हवाई सेवा बन्द नगर्ने सहमति भएको बताए ।

के हो वायुसेवा सञ्चालक संघको माग ?

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नागरिक उड्डयन प्राधिकरणबाट भएको (अपरेटिङ वेश) आधारको प्रावधानहरु हवाइ जहाज र हेलिकोप्टरमा खारेज गर्न माग गरे। उनले पूर्ववत अवस्थामा विना अवरोध सञ्चालन गर्न पाउनुपर्ने माग गरे। 

निजी क्षेत्रका विमान तथा हेलिकोप्टरहरु बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्ने, दुई चालक राख्नुपर्ने लगायतका मागहरु अव्यवहारिक भएकाले फिर्ता लिन माग गरिएको र मागको सुनुवाइ नभएपछि उडान नै रोकेर आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष थापाले बताए।

५ असारमा नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गरेको अपरेटिङ बेसका प्रावधानहरु खारेज गरी पहिलेकै व्यवस्था अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमान सेवा कम्पनीहरुले विना अवरोध सेवा यथावन सञ्चालन गर्न पाउने पर्ने माग संघको छ ।

संघको मागहरुमा विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ, पार्किङ्ग, नेभिगेशनलगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने, त्रिभुवन विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने उल्लेख छ।

त्यसैगरी असार ५ गतेको नागरिक उड्डयन प्राधिकरणको बाहिर आएको अपरेटिङ वेससम्बन्धी प्रावधानहरु विमानसेवा कम्पनीहरुको हकमा खारेज गर्नुपर्ने, हालसम्म भइरहेकै व्यवस्थाअनुसार त्रिभुवनलगायत विमानस्थलहरुबाट बिना अवरोध सेना यथावत् सञ्चालन गर्न पाउनुपर्ने माग संघले राखेको छ।

नियामक निकाय र सेवा प्रदायक संस्था नागरिक उड्डयन प्राधिकरण एकै निकायबाट भई रहेको कारण युरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाट देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहस नहस भइरहेकाले नेपाललाई युरोपियन हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि नेपाल सरकार र प्राधिकरणबाट यथाशिघ्र पहल गरिनुपर्ने संघको माग छ।

त्रिभुवन विभानस्थल परिसरमा नियमानुसार विमानस्थलबाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाईसेवाका लागि प्रयोग गरी रहेका स्थान तथा संरचनाहरुलाई यथावत् राखी प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने पनि संघको माग छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७