इजाजत खारेजको चेतावनीपछि हवाइ हड्तालको निर्णय फिर्ता, ११ बजेबाट उडान शुरु हुने


८ असार २०७९, बुधबार
airport 2 scaled 1
फाइल फोटो

काठमाडौं । अनिश्चितकालीन हवाई हड्तालको पूर्व घोषणाबाट वायुसेवा सञ्चालकहरु पछि हटेका छन् । सरकारले अत्यावश्यक सेवा ऐन अन्तर्गत पक्राउ गरी कारबाही गर्ने तथा इजाजत नै खारेज गर्नेसम्मको तयारी गरेपछि वायुसेवा सञ्चालकहरु हवाइ सेवा रोक्ने निर्णयबाट पछि हटेका हुन् ।

उनीहरुले आज बिहान ११ बजेदेखि उडान नियमित गर्ने तथा सरकारसँग वार्ता पनि जारी राख्ने निष्कर्षमा पुगेका छन् । वायुसेवा सञ्चालक संघले अत्यावश्यक सेवा नै प्रभावित गर्ने गरी आज (बुधबार) देखि सबै आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको थियो ।

तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान बन्द गरे सञ्चालकहरुलाई पक्राउ गरी वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्नेसम्मको चेतावनी दिएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेर वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गरिने बताए ।

जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरुले आन्दोलन गर्ने चेतावनी दिएका थिए । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहिबाट नै पहिलो उडान भर्नु पर्ने तथा नाइट स्पटका लागि त्यहि बास बस्नु पर्ने निर्णय गरेको थियो ।

प्राधिकरणमा गए राति बसेको बैठकमा वायुसेवा सञ्चालक संघले सबै उडान सञ्चालन गर्ने सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ दफा (३) को उपदफा (१) अनुसार सरकारले ०७९ जेठ २६ गते राजपत्रमा सूचना प्रकाशित गरी हवाई सेवालाई अत्यावश्यक सेवामा समावेश गरेर हडताल गर्न निषेध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७