आयात अनुपातमै विदेशी मुद्रा ल्याउन नसके नेपाल श्रीलंकाकै अवस्थामा पुग्न सक्छ : गभर्नर अधिकारी


८ असार २०७९, बुधबार
maha prasad adhikari

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्नसक्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयातले विदेशी मुद्रा सञ्चिति समेत घट्दै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने उनले बताए । उनले उद्योगी व्यवसायी लगायत सबैले नेपालमा नै उत्पादन बढाएर आयात नभइ निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने सोच राखे मात्रै मुलुकको अर्थतन्त्र सहि ठाउँमा आउन सक्ने बताए । गभर्नर अधिकारीले पछिल्लो समय विदेशबाट आएको रेमिट्यान्सले उत्पादन नभइ विदेशबाट नै आयात गर्नाले देशको विदेशी मुद्रा सञ्चितिमा गिरावट आइरहेको बताएका छन् ।

श्रीलंकाले लिट्टेसँग लडाइँ गर्दा पनि नभोगेको अर्थतन्त्रको चुनौती अहिले त्यहाँका जनताले भोगेको बताउँदै गभर्नर अधिकारीले नेपालले पनि उत्पादकत्व वृद्धिमा जोड नदिएर आयात मात्रै गरे श्रीलंकाकै अवस्था हुने दाबी गरे ।

गभर्नर अधिकारीले मौद्रिक नीति जादुको छडी नभएको बताएका छन् । उनले मौद्रिक नीति राष्ट्र बैंकको उद्देश्य अनुरुप सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरी ल्याइने बताए । गभर्नर अधिकारीले मौद्रिक नीति बनाउन सरकारको बजेटले दिएको मार्ग दिएको बताए । उनले पछिल्लो समय बैंकहरुमा ब्याजदर बढ्दै गएको बताउँदै अझै बढ्न सक्ने अनुमान गरे । गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरुले बढेको ब्याजदरमा सबैले स्वीकार्नुपर्ने बताए ।

अर्थतन्त्रका लागि जिम्मेवार पक्षहरू सबैजना आआफ्ना दायित्वमा इमानदार भए मात्रै अहिलेको संकटको सामना गर्न सकिने जिकिर उनले गरे । उनले कुल गार्हस्थ्य उत्पादनको १०७ प्रतिशतको ऋण कसले चलाएको छन् भन्ने प्रश्न गर्दै त्यस्तो ऋण प्रणालीमा स्वभाविक रुपमा फर्किने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७