अमेरिकी डलरको भाउ हालसम्मकै उच्च : आजको विक्रीदर १२५.७२ रुपैयाँ


९ असार २०७९, बिहीबार
dollor

काठमाडौँ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि एक अमेरिकी डलरको विनिमय दर १२५.७२ रुपैयाँ (बिक्री दर) निर्धारण गरेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।

करिब एक साताअघि एक अमेरिकी डलरको विनिमय दर १२५.१६ रुपैयाँ थियो । त्यसपछिका ५ दिन १२५.२२ रुपैयाँ कायम रह्यो । गत मंगलबार केही घटेर १२५.०७ रुपैयाँ कायम भयो । तर, बुधबार फेरि उकालो लाग्दै १२५.२२ रुपैयाँमा पुगेकोमा बिहीबार रेकर्ड नै बनाएको हो ।
गत वर्षको असार मसान्तको तुलनामा वैशाखसम्म अमेरिकी डलरसँग रुपैयाँ ३.७१ प्रतिशतले कमजोर (अवमूल्यन) रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । तर, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रुपैयाँ २.७२ प्रतिशतले बलियो (अधिमूल्यन) थियो । ‘२०७९ वैशाख मसान्तमा अमेरिकी डलर १ को खरिद विनिमय दर १२३.६३ रुपैयाँ पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘२०७८ असार मसान्तमा उक्त विनिमय दर ११९.०४ रुपैयाँ थियो ।’

पछिल्ला साढे ४ वर्षमा डलर भाउ करिब २३ रुपैयाँले बढेको छ । सन् २०१७ डिसेम्बरमा १ डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्व बजारमा डलरको माग अकासिएपछि भाउ पनि बढेको हो । पछिल्लो पटक गत वैशाख २७ देखि हरेक दिनजसो नयाँ उचाइमा पुगेको डलर भाउ जेठ ६ मा १२४.६७ रुपैयाँ पुगेको थियो । त्यसअघि गत फागुन २४ मा १२३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १२३.२४ रुपैयाँसम्म पुगेको थियो ।

पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।
यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । बुधबार साँझ एक अमेरिकी डलरको विनिमय दर भारु ७८.३१ छ । जुन ६ तारिखमा यस्तो विनिमय दर भारु ७८.०६ थियो । त्यसयता भारतमा पनि निरन्तर जसो भारु कमजोर बन्दै गएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७