रामायण सर्किटमा सञ्चालित रेल ४९९ भक्तजनसहित जनकपुर आउँदै


९ असार २०७९, बिहीबार
Rail

जनकपुरधाम । नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने ‘रामायण सर्किट’ मा सञ्चालित रेल आज जनकपुरधाम आइपुग्दै छ । ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउन लागेको हो ।

भारतको नयाँ दिल्लीबाट त्यहाँका पर्यटन र रेलमन्त्रीले संयुक्त रूपमा बिदाइ गरेको रेल बिहीबार दिउँसो पौने २ बजे जनकपुरधाममा आइपुग्ने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् ।
उनका अनुसार रेलमा ४९९ श्रद्धालु भक्तजन सवार छन् । उनीहरूलाई जनकपुरधाममा ओरालेर रेल फिर्ता जानेछ । तीर्थयात्री आज यहीं बसेर शुक्रबार बसबाट भारतको सीतामढी जाने तालिका रहेको बताइएको छ ।

पवित्र ग्रन्थ रामायणमा वणर्न गरिएको सीतारामसित जोडिएका तीर्थस्थलहरूको दर्शनमा उक्त रेलको प्रयोग गरिनेछ । पहिलो पटक सो रेल जनकपुरधाममा आइपुग्दा भव्य स्वागतको तयारी गरिएको छ । मधेस प्रदेश सरकारले यात्रीको स्वागतका लागि विशेष तयारी गरेको छ । उद्योग, पर्यटन तथा वन मन्त्रालयले आयोजना गरेको स्वागत कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतको समेत उपस्थिति रहनेछ । ‘जनकपुरधामको पर्यटकीय विकासका लागि रामायणयात्रा कोसेढुंगा सावित हुनेछ’, मधेसका पर्यटनमन्त्री शत्रुधन महतोले भने, ‘यसले नेपाल र भारतबीचको सम्बन्धलाई समेत सुमधुर बनाउनेछ ।’

तीर्थयात्रीलाई जानकी मन्दिरसहित यहाँका तलाउ, सरोवर, मठमन्दिर, धनुषाधामलगायत रामायणकालीन स्थलहरूको दर्शन गराइने जानकी मन्दिरका महन्थ रामरोशन दासले जानकारी दिए । नेपालको एक मात्र जयनगर-जनकपुरधाम-कुर्था ३५ किलोमिटरको रेलसेवा सुरु भएको तीन महिनाभित्र भारतको अत्यन्त महत्त्वाकांक्षी पर्यटक रेल आउन लागेको हो । नेपालमा एकसाथ ५०० बढी पर्यटक ल्याउने ‘भारत गौरव पर्यटक रेल’ पहिलो सवारीसाधन हुनेछ । भारतको राजधानी नयाँ दिल्लीबाट प्रस्थान हुने भारत गौरव पर्यटक रेल’तेस्रो दिन जनकपुरधाम आइपुग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७