सुदूरपश्चिम प्रदेशमा बढ्दै कोरोना संक्रमण


१० असार २०७९, शुक्रबार
korona

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि सङ्क्रमण बढ्न थालेको हो ।

पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको उल्लेख छ ।

कोरोना भाइरसको आशङ्कामा बुधबार ३५९ जना र आज बिहीबार ३२८ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्ला दिनमा यो रोगको सङ्क्रमण दर केही बढे पनि फागुनयता रोगले हुने मृत्युदर भने शून्य छ ।

भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्ने जोखिम देखिएको सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीको भनाइ छ ।

सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरवाही भइरहँदा यो रोगको सङ्क्रमण बढ्न थालेको बताइएको छ । सीमानाका हुँदै भित्रिनेको नमूना परीक्षणको कामलाई प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशका विभिन्न सीमा नाकाबाट बुधबार ६६४ र आज ५८७ जना नेपाल भित्रिएको जनाइएको छ । सीमा नाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्र एन्टिजेन विधिबाट नमूना परीक्षण हुने गरेको छ ।

प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसंख्या २२ लाख ८३ हजार ३८८ मध्ये अधिकांशले पूणर्मात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ । पछिल्ला दिनमा कोरोनाविरुद्धको खोप नपाएका बालबालिकालाई खोप दिन सुरु गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७