हजारौं कर्मचारी नियमविपरीत काजमा, लालबाबुलाई चुनौती


१६ चैत्र २०७४, शुक्रबार
ganesh prasad bhatta copy 1

काठमाडौं, १६ चैत । निजामती सेवा ऐन २०४९ अनुसार एक बर्षमा एकपटक तीन महिनाका लागि काजसरुवा गर्र्नसक्ने ब्यवस्था छ । ऐनको यो ब्यवस्थाको उल्लंघन गर्दै हरेक मन्त्रालयमा नियमविपरीत सयौं कर्मचारी कार्यरत छन् । सामान्य प्रशासन मन्त्रालयको सहमति विपरीत अनियमित काजमा कार्यरत कर्मचारीहरुका कारण हरेक मन्त्रालयमा बेथिति सृजना भएको छ । अनियमित काजमा बस्नेहरुमा सबैभन्दा बढी नापी विभागमा छन् ।

ganesh prasad bhatta copy 1
मन्त्री लालबाबु पण्डित र महानिर्देशक गणेश भट्ट ।

नापी विभागमा बर्षौबर्षदेखि सयौं कर्मचारी काजमा खटाइएको छ । सीमा नापी टोलीबाहेक अन्यत्र बर्षमा एक पटक भन्दा बढी काजमा खटाउन पाइँदैन । तर नापी विभाग अन्तर्गतका काठमाडौं उपत्यकाका नापी कार्यालयदेखि झापा, सुनसरी, मोरङ, बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर, पोखरा, बुटवल, दाङ, नेपालगंज, धनगढी जस्ता जिल्लाका नापी कार्यालयमा बर्षौबर्षदेखि सयौं कर्मचारी काजमा कार्यरत छन् । यी कार्यालयमा आनाको ५० हजार रुपैयाँसम्म घुस लिने गरेकाले नापीका कर्मचारीले तवलबापतको रकम घुस दिएर काजसरुवा हुने गरेका छन् । कृषियोग्य जमिन कित्ताकाट गर्न रोक लगाएपछि काठमाडौं उपत्यका लगायतका सहरमा कित्ताकाटकै नाममा घुस असुली हुने गरेको छ । भूमिसुधार मन्त्रालयको परिपत्र र सर्वोच्च अदालतको फैसला अनुसार कित्ताकाट गर्न रोक लागेको छ । तर उपत्यकाका नापी कार्यालयले आनाको ५० हजार घुस लिंदै अदालतको आदेश र मन्त्रालयको परिपत्र विपरीत कृषियोग्य जग्गा धमाधम कित्ताकाट गरिरहेका छन् ।
निजामती सेवा ऐन २०४९ को दफा १८ (क)मा काजसम्बन्धी ब्यवस्था छ–‘निजामती कर्मचारीलाई निज कार्यरत रहेको मन्त्रालय, सचिवालय, आयोग, विभाग वा कार्यालयबाट सोही निकायको काममा मात्र अन्य स्थानमा काज खटाउन सकिनेछ । यसरी काज खटाउँदा एक वर्षमा तीन महिनाभन्दा बढी अवधिको लागि काज खटाउन पाइने छैन ।’ ऐनको यो ब्यवस्था विपरीत नापी विभागमा कृष्णराज बीसी महानिर्देशक र शाखा अधिकृत खगेन्द्रसाद अर्यालले घुस लिंदै सुरु गरेको काजसरुवाको गलत परम्परा वर्तमान महानिर्देशक गणेशप्रसाद भट्ट आएपछि घट्ने होइन, बढेको छ । शाखा अधिकृत अर्याल लोकसेवा आयोगबाट नापी विभागमा आएका हुन् । उनका दाजु नापी विभागका सर्भेक्षक ओमप्रसाद अर्यालको सल्लाह अनुसार उनी नापी विभागमा सरुवा भएर आएका हुन् । स्रोतका अनुसार सर्भेक्षक अर्यालले नै नापीका सरुवामा घुस कसरी असुली गर्ने भनेर सबै फर्मूला सिकेर आएका हुन् ।
काजसरुवामा यसरी हुन्छ घुस असुली
नापी विभागका महानिर्देशक गणेश भट्टले प्रतिदिन काजसरुवाका लागि परेका दर्जनौं निवेदनमा गर्नु वा नगर्नु भनेर तोक लगाउँदैनन् । उनले काजका लागि परेका निवेदनमा ‘प्रशासन’ भनेर दोहोरो अर्थ लगाउने खालको तोक लगाउने गर्दछन् । यसरी महानिर्देशक भट्टले लगाएको तोकमा शाखा अधिकृत अर्यालले मोलमोलाई गर्दछन् । अर्याललाई तीन महिनाको तलव बराबरको रकम घुस दिनेको काजसरुवा फटाफट भइहाल्छ । काठमाडौं उपत्यका, काभ्रे, झापा जस्ता आकर्षक नापी कार्यालयमा काजसरुवा हुन चाहने अमिन, सर्भेक्षक र नापी अधिकृतहरुबाट प्रशासन शाखाका खगेन्द्र अर्यालले ३ महिनाको तलव घुस लिंदै खुरुखुरु काज खटाएको पत्र दिने गरेका छन् । त्यसरी सरुवा गरेको कर्मचारीलाई ३ महिनापछि अर्यालले पुनः फोन गरेर बोलाएर काजमा यथावत बस्ने भए पुनः तीन महिनाको तलव बुझाउन आदेश दिने गरेका छन् । कर्मचारीहरुले पुनः ३ महिनाको तलव बुझाएर काज खटाएको पत्र लिएर जाने गरेका छन् । यसरी प्रत्येक दिन दर्जन जति काजसरुवा गर्दा कर्मचारीसँग ३ महिनाको तलव अर्यालले घुस लिने गरेका छन् । शाखा अधिकृत अर्यालले अहिलेसम्म काज सरुवा गरेरै करोडौं रुपैयाा घुस असुली गरिसकेको आरोप छ ।
बीसी महानिर्देशक भएको बेला लोकसेवाबाट सरुवा भएर आउनासाथ अर्यालले सयौं कर्मचारीको सरुवामा सहभागी भएर फाइदा लिएका थिए । त्यतिबेलाको सरुवामा नयाँ भएकाले चोक्टा बीसीले खाएर अर्यालले झोलमात्र भेटेका थिए । तर पछिल्ला सरुवामा शाखा अधिकृत अर्याल र महानिर्देशक भट्टले चोक्टा(घुस) आधा आधा बाँडेर खाने गरेका छन् ।
मन्त्री पण्डितले के गर्लान् ?
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती सेवा ऐन उल्लंघन हुनेगरी नापी विभागका सयौं कर्मचारीलाई तीन महिनाभन्दा बढी आकर्षक कार्यालयमा मौखिक रुपमा काज राखेको बिषयमा छानबिन गर्ने अपेक्षा विभागका कर्मचारीले गरेका छन् । तीन महिनाको तलव घुस लिएर शाखा अधिकृत अर्याल र महानिर्देशक भट्टले आकर्षक कार्यालयमा सयौ कर्मचारी काजमा राखेका छन् । यसरी तीन महिनाको तलव घुस लिएर अनियमित काजमा कर्मचारी खटाउने महानिर्देशक भट्ट र अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सचेत गराएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको ध्यान नापीको काज विकृतितिर जानुपर्ने देखिन्छ । सीमा नापी टोलीमा काजमा खटिएका बाहेक काठमाडौं उपत्यकामा काजमा कार्यरत कर्मचारीलाई तत्काल फिर्ता गराउन सके पनि धेरै विकृति हट्ने नापी विभाग स्रोत बताउँछ ।
बर्षौदेखि काजमै
महोत्तरी नापी कार्यालयका नापी अधिकृत राजुकुमार द्विवेदी ४ बर्षअघि सर्लाहीको हरिऔन नापी कार्यालयमा सरुवा भएका थिए । तर उनी ४ बर्षदेखि नै सरुवा भएको कार्यालय हरिऔनमा नगई जलेश्वरमा काजमा कार्यरत छन् । उनी प्रशासनका अर्यालमार्फत् तीन महिनाको तलव घुस दिंदै जलेश्वरमा काजमा कार्यरत छन् । हरिवनका नापी अधिकृत रामकैलाश महतो २ बर्षदेखि काजमा कार्यरत छन् । उनको सरुवा २ बर्षअघि झापाको दमकमा भएको थियो ।
सर्भेक्षेक विनोद चौधरी ४ बर्षअघि पर्साबाट नापी कार्यालय बाँकेमा सरुवा भए पनि अहिलेसम्म रमाना नलिई काजमा कार्यरत छन् । सर्भेक्षक उमेशलाल कर्ण नापी कार्यालय महोत्तरी जलेश्वरबाट सर्लाहीमा सरुवा भए पनि अहिलेसम्म गएका छैनन् । उनी पनि ४ बर्षअघिदेखि काजमै कार्यरत छन् । यी केही उदाहरण हुन्, काठमाडौं उपत्यकादेखि हरेक आकर्षक नापी कार्यालयमा सामान्य प्रशासन मन्त्रालयले अनुगमन गर्ने हो भने काजमा कर्मचारी कार्यरत रहेको फेलापर्ने स्रोत बताउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७