सुदूरपश्चिममा पहिलोपल्ट भित्र्याइयो धान रोप्ने चारपांग्रे मेशिन


१२ असार २०७९, आईतवार
dhan ropne qElfdaDfu5

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक चार पाङग्रे धान रोप्ने मेशिन भित्र्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले रु १९ लाख ८० हजारमा अत्याधुनिक मेशिन ल्याएको हो ।

डिकाम माइक्रो सिस्टम नामक कम्पनीबाट परियोजनाले बोलपत्र प्रक्रियामार्फत धान रोप्ने मेशिन खरिद गरेको छ । खरिद गरिएको मेशिनको सफलतापूर्वक परीक्षणको कार्य समेत गरिएको परियोजनाका कार्यालय प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिए ।

‘प्रदेशमै पहिलो पटक धान रोप्ने अत्याधुनिक मेशिन भित्र्याएका छौं’, उनले भने, ‘यस मेशिनको मद्दतले एक घण्टामा एक बिघा खेतमा बर्खे र चैते धान सहजरूपमा रोप्न सकिन्छ । ट्रेमा बेर्ना तयार गरी मेशिनमा राखेर रोप्ने गरिएको छ ।’

धान रोप्नका लागि मेशिनको प्रयोग हुने भएपछि किसानलाई धान रोप्ने मजदुर खोज्ने झन्झट हुँदैन । कम समयमै धेरै धान रोपिने भएकाले किसानले कुर्नु पर्दैन । ‘चालु आवमा मेशिनलाई परीक्षणका रूपमै सञ्चालन गर्छौ’, कार्यालय प्रमुख रिमालले भने, ‘किसानको प्रतिक्रिया लिएर अर्को आवदेखि कार्यालयबाटै करारमा चालकको व्यवस्था गरी किसानलाई थोरै शुल्क लिएर मेशिन उपलब्ध गराइने योजना बनाउँछौँ ।’

चितवनलगायतका ठाउँमा धान रोप्ने मेशिनको प्रयोग सहजरूपमा भइरहेको देखेपछि किसानलाई धान रोप्नमा सहजता ल्याउनका लागि र किसानलाई आधुनिक कृषियन्त्रप्रति आकर्षित गराउनका लागि मेशिन ल्याइएको उनले जानकारी दिए । परियोजनाअन्तर्गत १० बिघा जग्गामा धानखेती गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७