यी देशले लगाउँदैछन् रुसी सुनमाथि प्रतिबन्ध


१३ असार २०७९, सोमबार
Russian Gold Band
सांकेतिक तस्वीर

लन्डन । बेलायत, अमेरिका, क्यानडा र जापानले रुसबाट हुने सुन आयातमाथि प्रतिबन्ध लगाउने भएका छन् । युक्रेन युद्धका लागि मस्कोलाई खर्च धान्न नसक्ने बनाउने प्रयास स्वरूप यी मुलकले यो कदम चाल्न लागेका हुन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यस कदमले पुटिनको युद्ध यन्त्रको मुटुमै प्रहार हुने बताएका छन् ।

सन् २०२१ मा रुसबाट १५ अर्ब ४० करोड अमेरिकी डलर बराबरको सुन निर्यात भएको थियो । बेलायतका अनुसार प्रतिबन्धको चपेटाबाट बच्नका लागि रुसी धनाढ्यहरू सुनका ढिक्का किन्न हतारिएपछि रुसमा सुनको महत्व अझै बढेको छ ।

जर्मनीमा विश्वका समृद्ध मुलुकहरूको समूह जी-७ को बैठक बस्ने क्रममा रुसी सुन आयातमा प्रतिबन्ध लगाउने प्रसंग सार्वजनिक भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले जी-७ का अन्य सदस्य राष्ट्र जर्मनी, फ्रान्स र इटलीलाई पनि यस प्रतिबन्ध अभियानमा सहभागिता जनाउन सल्लाह दिएका छन् ।

प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत भनेका छन्, ‘हामीले रुसको सुन आयातमा बन्देज लगाउने घोषणा गर्नेछौँ । यसबाट रुसबाट हुने अर्बौ डलर बराबरको सुन निर्यात प्रभावित हुनेछ । हामीले पुटिन सरकारलाई आर्थिक समस्या सिर्जना गराउने काम मात्र गर्न गइरहेका छौँ ।’

बेलायतको राजधानी लन्डन सुनको कारोबार हुने विश्वको प्रमुख बजार हो । रुसले गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेयता पश्चिमी मुलुकहरूले रुसी धनी व्यक्ति, बैंक, व्यापार-व्यवसाय र सरकारी संघ संस्थाहरूमाथि थुप्रै प्रतिबन्ध लगाइसकेका छन् ।

अहिलेसम्म अमेरिका, युरोपेली संघ, बेलायत र अन्य मुलुकहरूले एक हजार भन्दा बढी रुसी व्यक्ति विशेष र व्यापारिक संस्थामाथि प्रतिबन्ध लगाइसकेका छन् । बेलायतले चाँडै नै रुसी सुन आयातमाथिको प्रतिबन्ध कार्यान्वयनमा आउने जनाएको छ । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७