सहसचिवकै श्रीमती ९ हजार घुससहित समातिएपछि….


१६ चैत्र २०७४, शुक्रबार
ciaa

काठमाडौं, १६ चैत । निजामती कर्मचारीहरु जीवीकोपार्जनका लागि पुग्ने तलव सरकारले नदिएका कारण घुसखोरी बढेको तर्क दिने गरेका छन् । सरकारले कर्मचारीलाई राम्रो तलव सुविधा दिए भ्रष्टाचार कम हुने तथ्यहरुसमेत विज्ञहरुले पस्कने गरेका छन् । तर जतिसुकै तलव दिए पनि भ्रष्टाचार झन् बढेको छ । श्रीमान सहसचिव र श्रीमती अधिकृत छन् । दुई जनाको तलव भत्ताले सुविधाजनक रुपमा जीवन गुजारा हुन्छ । तर पनि घुस लिएर रातारात करोडपछि हुने मोह हट्न सकेको छैन ।

ciaa
गृहमन्त्रालयका सहसचिव बाबुराम गौतमकी शाखा अधिकृत पदमा कार्यरत श्रीमती इन्दिरा गौतम खनाल २०७४ चैत ७ गते ९ हजार घुस लिंदालिंदै पक्राउ परेपछि जति कमाइ भए पनि घुस खान छाड्दैनन् भन्ने पाठ सिकाएको छ । घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत इन्दिरा गौतमलाई काठमाडौं हिडेन ट्रेजर नामक सिलाई बुनाई गार्मेन्ट संचालन गर्न उद्योग दर्ताका लागि ९ हजार घुस लिंदालिंदै अख्तियारको टोलीले पक्राउ गरेको छ ।
उनका श्रीमान बाबुराम गौतम हाल गृहमन्त्रालय अन्तर्गत कार्यरत छन् । उनी शाखा अधिकृत हुँदा नै रुपन्देहीको कामु स्थानीय विकास अधिकारी(एलडीओ) भए । उनी ४ बर्ष रुपन्देहीको एलडीओ हुँदा नै अथाह सम्पत्ति आर्जन गर्ने उपसचिवका रुपमा चिनिन्थे । जनप्रतिनिधि नभएको समयमा रुपन्देहीबाट ढुंगा गिटी भारतततर्फ तस्करी गरी उनले करोडौं रुपैयाँ आर्जन गरेका थिए । सहसचिव बढुवा भएपछि उनी गृह मन्त्रालयमा सरुवा भएर पाल्पाको प्रमुख जिल्ला अधिकारी भएका थिए । स्थानीयका अथाह सम्पत्ति आर्जन गर्ने एलडीओहरु उद्धव तिमिल्सिना, दीपेन्द्रराज पौडेल, गोपाल पराजुली, दिलीप चापागाई(क), दिलीप चापागाई (ख), पशुपति पोखरेल, कोमल धमला, युवराज पौडेल लगायतका एलडीओहरुकै हारमा बाबुराम गौतम पर्दछन् । उनीसँग अथाह सम्पत्ति भए पनि उनकी श्रीमती इन्दिराले ९ हजार घुस समेत छाडिनन्, साँघुले लेखेको छ । नायबसुब्बा हुँदै कम्पनी रजिष्टार कार्यालयबाट घरेलु कार्यालय काठमाडौंमा सरुवा भएकी इन्दिरा गौतमले अथाह सम्पत्ति भए पनि सेवाग्राहीलाई सास्ती दिएर ९ हजार घुस समेत लिइन् ।
बाबुराम गौतम एक उदाहरण हुन्, श्रीमान श्रीमती नै निजामती सेवामा भए पनि भ्रष्टाचार गरी रातारात करोडपति हुने लालसाले गर्दा भ्रष्टाचार हुने गरेको छ । तत्कालीन सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका सहसचिव तथा हाल लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईले श्रीमती निर्मला न्यौपानेलाई घुस खाने अड्डा बैदेशिक रोजगार विभागमा सरुवा गरेका थिए । काजसरुवा भएकी शाखा अधिकृत न्यौपानेसहित वैदेशिक रोजगार विभागका मन्जु शर्मा सुवेदी, अजिता शर्मा, मुक्तिप्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कुँवरलगायत अध्यागमनका समेत ३५ कर्मचारीलाई अख्तियारले २०७० भदौ ७ मा पक्राउ गरेको थियो । श्रीमान गुरागाई सामान्यमा भएकै कारण आफ्नो हात जगन्नाथ गर्दै श्रीमतीलाई घुस खाने अड्डामा काजसरुवा गरेका थिए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले आफ्नो कृषि विकास बैंकमा कार्यरत श्रीमतीलाई विभिन्न परियोजनाको नाममा हरेक विदेश भ्रमणमा सँगै लाने गरेको आरोप छ । उनी जुन मन्त्रालयबाट विदेश जाँदा पनि श्रीमतीलाई त्यही मन्त्रालयको बजेट मिलाएर लाने गरेको कर्मचारीहरु बताउँछन् । यसरी मन्त्रालयको सचिव पदको दुरुपयोग गरी श्रीमतीलाई विदेश लानु पनि भ्रष्टाचार नै हो । यी तीन उदाहरण हुन्, भ्रष्टाचार प्रवृत्ति हो, भ्रष्टाचार अख्तियारका कारण मात्र नियन्त्रण हुन सक्दैन । सहसचिव र सचिवले नै श्रीमतीलाई घुस खाने अड्डामा शक्ति प्रयोग गरी सरुवा गर्ने र सुशासनको भाषण छाँट्ने प्रचलन नेपालमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७