लिफ्ट दिएकै समूहले गाउँपालिका कर्मचारीको कार लुट्यो, कुटपिट गरी बाटोमा बाँधेर छाड्यो


१३ असार २०७९, सोमबार
car lutera1656322968

कैलाली । डडेल्धुराको आलीताल गाउँपालिकाका एक कर्मचारी सोमबार बाँधिएको अवस्थामा सडकमा भेटिएका छन् । कैलालीको गोदावरी नगरपालिका-५ बुढीतोलामा आलीताल गाउँपालिकाका कम्प्युटर अपरेटर कर्मचारी लोकेन्द्र सिंह भण्डारी बाँधिएको अवस्थामा फेला परेको अध्यक्ष शेरसिंह पार्कीले जानकारी दिए ।

लिफ्ट दिएर सँगै ल्याएका नचिनेका भारतीयहरुको एक समूहले कैलालीको बुढीतोलामा उनलाई लुटेर भागेका छन् । लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिट समेत गरेका छन् । उनलाई लुटेराले बाँधेर फरार भएका थिए । लुटेराले भण्डारीकोे प्रदेश ०१-२३-च ६०२१ नम्बरको कार समेत लुटेर लगेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको हो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

भण्डारीले प्रहरीलाई बताएअनुसार महेन्द्रनगरदेखि तीन जना भारतीय मूलका नागरिकले खानीडाँडासम्म जाने भन्दै लिफ्ट मागे । भण्डारीले आफ्नो प्रदेश ०१-२३-च ६०२१ नम्बरको कारमा लिफ्ट दिए । बुढीतोला क्षेत्रमा पुगेपछि फोटो खिचौं भनेर कार रोक्न लगाई उनीहरुले भण्डारीमाथि कुटपिट गरे ।

उनीहरुले भण्डारीलाई कुटेर प्लाष्टिकले हात-खुट्टा र मुख बाँधेर सडकदेखि करिब एक सय मिटर तल भिरमा छोडिदिए । भण्डारीले आफ्नो कार पनि उनीहरुले लिएर फरार भएको बताएका छन् । हात पछाडि बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लुटिएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७