काठमाडौँ उपत्यकामा ११ दिनमा भेटिए हैजाका १२ बिरामी

हैजासम्बन्धी गुनासो सुन्न महानगरको ११८० नम्बरको हटलाइन


१४ असार २०७९, मंगलवार
teku

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्ला ११ दिनमा १२ जनामा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले राजधानीका भित्री भागमा कलेरा फैलिएको बताए । उनले २ असारयता १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

गत २ असारमा बागबजारमा मजदुरी गर्ने एकै परिवारका दुई दिदीबहिनीमा हैजा पुष्टि भएको थियो । चटपटे खाएर बिरामी परेका उनीहरूलाई नमुना परीक्षण गर्दा हैजा पुष्टि भएको थियो । आइसियूमा उपचारपछि उनीहरू हालै डिस्चार्ज भएका छन् । देशको एक मात्रै सरुवारोग अस्पताल टेकुमा झाडापखालाका बिरामी दैनिक सयको संख्यामा हुन्छन् । केहीको कलेरासँग मिल्ने लक्षण देखिए पनि धेरैमा झाडापखाला देखिएको छ । फोहोर उठाउन नसक्दा हैजाको संक्रमण फैलिएको हो ।

प्रभावित क्षेत्र हेर्दा हैजाले राजधानी घेरिएको छ । काठमाडौंका भित्री भागहरूमा बिरामी देखिएका छन् । स्वास्थ्य मन्त्रालयले बताए अनुसार हाल राजधानीको बागबजार, डिल्लीबजार, बोहराटार, नैकाव, थानकोट, सानेपा, बल्खु, कोटेश्वर र कपन क्षेत्रमामा हैजाका जिवाणु देखिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे भएको छलफलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. दासले घाराको पानी र विशेषगरी जारमा भरेको पानीमा कलेराको जिवाणु देखिएको बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको पानीको पनि १० वटा नमुना परीक्षण गरिएको उनले बताए । ’काठमाडौंमा वितरीत १५ प्रतिशत जारको पानी पनि प्रदूषित पाइएको छ,’ निर्देशक दासले भने, ‘बुढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको छ ।’ हैजाले महामारीको रुप लिन सक्ने भन्दै तयारी स्वरुप पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि अलर्ट गरिएको छ । अघिल्लो वर्ष कपिल्वस्तु र सप्तरीमा ८ जनामा हैजा पुष्टि भएको थियो ।

हैजा हुँदा ग्याष्ट्रोएन्टेराइटिस हुनेगर्छ । यसले गर्दा बान्ता हुने । चौलानी पानी जस्तो पखाला जाने हुन्छ । पिसाव रोकिने र निरन्तर दिसा जाने गर्छ । संक्रमित व्यक्तिको दिसा पिसाब व्यवस्थापन गर्न सकिएन भने अर्को व्यक्तिमा सर्न सक्छ ।

खानेपानी सुरक्षित भए नभएको जाँचेर मात्र पिउनुपर्छ । पानी उमालेर मात्रै खानुपर्छ । सकेसम्म घरमै तयार भएको हाइजेनिक खानेकुरा खानुपर्छ । साबन पानिले हात धुने बानी बसाल्नु पर्छ जसले गर्दा हातको माध्यमबाट सर्ने किटाणु सर्न पाउँदैनन् ।
हैजासम्बन्धी गुनासो सुन्न महानगरको ११८० नम्बरको हटलाइन
काठमाडौं महानगरपालिकाले हैजासम्बन्धी गुनासो सुन्न र समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन गरेको छ । महानगरले राष्ट्रिय सभा गृहको कल सेन्टर ११८० नम्बरबाट ११८० नम्बर सञ्चालनमा ल्याइ सेवा थालेको हो ।

यसअघि सोही नम्बर कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको थियो । हैजाको प्रकोप भएको ठाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयंसेविका र वास स्वयंसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने निर्णय पनि महानगरले गरेको छ । जनस्वास्थ्य सम्बन्धी जोखिम पूर्वअनुमान गरेर व्यवस्थापनका काम थालिएको महानगरका प्रमुख बालेन्द्र शाहको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७