शिवराज नगरका तीन हजार बढी युवा वैदेशिक रोजगारमा


१४ असार २०७९, मंगलवार
airport 3
फाइल फोटो

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका २७ प्रतिशत युवा वैदेशिक रोजगारमा गएको तथ्याङ्क पाइएको छ । नगरपालिकाले तयार पारेको वैदेशिक रोजगारसम्बन्धी परामर्श चित्र २०७८ को तथ्याङ्कअनुसार नगर भित्रका तीन हजार ६५७ घरधुरीका युवा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न मुलुकमा रहेको पाइएको छ ।

अहिले पनि शिवराजका एक हजार ९११ जना युवा वैदेशिक रोजगारमा कार्यरत छन् भने अन्य युवा स्वदेश फर्किसकेका छन् । ११ वटा वडा रहेको शिवराजमा वैदेशिक रोजगारको समग्र सङ्ख्यालाई तुलना गर्दा वडा नं ११ बाट सबैभन्दा बढी ३०८ जना युवाहरू वैदेशिक रोजगारमा गएका छन् ।

त्यसैगरी वडा नं २ बाट २६६ र ४ र ५ बाट क्रमशः २४५ र १४७ जना युवा विदेश गएको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै सबैभन्दा कम ६ बाट ८४ विदेसिएको तथ्याङ्कमा देखिएको छ । उक्त तथ्याङ्कमा आधारित रहेर हेर्दा समग्र शिवराजको जनसंख्याको चार प्रतिशत वैदेशिक रोजगारमा गएको देखिन्छ ।

नगरको वैदेशिक रोजगारीसम्बन्धी पाश्र्व चित्र विमोचन कार्यक्रममा नगर प्रमुख अजय थापाले युवालाई रोजगारका लागि विदेशिने बाध्यतालाई न्यूनीकरण गर्न नगरभित्र समय अनुकूलको रोजगारको व्यवस्था गरिने बताए । वैदेशिक रोजगारका कारण र युवाको आवश्यकतालाई पहिचान गरेर स्वदेशमै रोजगारको अवसर प्रदान गर्न सके पलायन हुनबाट रोक्न सकिने बताए । युवालाई स्वदेशमै टिकाइराख्नका लागि सीप सिक्ने अवसर दिनुपर्ने नगर उपप्रमुख शिवकुमारी थारूले बताए । सिकेको सीपलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याएर मुलुकमै केही गर्नुपर्ने बताए ।

वैदेशिक रोजगारको मुख्य गन्तव्य मुलुकका रूपमा मलेसियासहितका खाडी मुलुक रहेको पाइएको छ । शिवराज नगर भित्रका युवा सबैभन्दा धेरै साउदी अरबमा २१ प्रतिशत रहेका छन् । त्यस्तै क्रमशः कतार १९, मलेसिया १५, युएई १५ प्रतिशत लगायतका देशलाई यस नगरका युवाले वैदेशिक रोजगारको गन्तव्य मुलुकका रूपमा छनोट गरेका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७