स्वदेशी लगानीमै बूढीगण्डकी आयोजना बनाउन कम्पनी खोल्ने सरकारको निर्णय


१४ असार २०७९, मंगलवार
Budhi gandaki 1

काठमाडौँ । सरकारले कम्पनी खडा गरेर बूढीगण्डकी जलविद्युत आयोजना बनाउने निणर्य गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी कम्पनी खडा गरेर अघि बढ्ने निर्णय गरेको हो ।

केही समयअघि सरकारले राष्ट्रिय गौरवको १२०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा वाटर एन्ड पावर समूहबाट खोस्ने निणर्य गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । सोही अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पब्लिक कम्पनी स्थापना गरेर स्वदेशी लगानीमा बनाउने गरी गरेको प्रस्ताव मंगलबारको मन्त्रिपरिषद् बैठकले पास गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उर्जा मन्त्रालयको प्रस्तावअनुसार छुट्टै कम्पनी खोल्ने र त्यसैमार्फत आयोजना निर्माणको काम अघि बढाउने निर्णय भएको छ ।

२४ चैत २०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालयको प्रस्तावअनुसार बूढीगण्डकी आयोजनाबाट चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई विदा गर्ने र स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । चिनियाँ कम्पनीसँग वार्ता गरेर परियोजना अघि बढाउने गरी भएको निणर्यअनुसार काम हुन नसकेपछि स्वदेशी लगानीमा अघि बढाउने गरी निर्णय भएको थियो ।

आइतबार एक सार्वजनिक कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बूढीगण्डकी आयोजना छुट्टै कम्पनीमार्फत बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको जानकारी दिएकी थिइन् । उनले आगामी आर्थिक वर्षबाटै आयोजनाको निर्माण सुरु गर्न सकिने उनको भनाइ थियो ।

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा आयोजनाको निर्माण ढाँचा निर्धारण र स्रोत व्यवस्थापन गरी कार्यान्वयन गर्ने घोषणा गरेको थियो । आगामी आर्थिक वर्ष २०७९/८० बाट आयोजनाका लागि लगानी जुटाएर निर्माण थाल्ने योजना छ । ऊर्जा मन्त्रालय स्रोतका अनुसार छुट्टै कम्पनी स्थापना गर्न कम्पनीको विनियमावली र प्रबन्ध पत्रको मस्यौदा लगायत तयार भइसकेको छ । ऊर्जामन्त्री भुसालले कम्पनीको नेतृत्वमा ल्याउन सक्ने व्यक्तिबारे छलफल चलाएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७